काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ । यो क्रम अझै केही समयका लागि रहन सक्ने नेपाल सुन चाँदी व्यावसायी महासङ्घले जनाएको छ । यही रफ्तारमा घट्दै गएपछि अबको २ हप्तामा सुनको मूल्य घटेर १ लाख ५ हजारमा आउन सक्ने नेपाल सुन चाँदी व्यावसायी महासङ्घका अध्यक्ष मणिक रत्न शाक्यले बताए।
यसरी सुनको मूल्यमा ह्रास आउनुको ठोस कारण भने केही नभएको महासङ्घका अध्यक्ष शाक्य बताउँछन् ।
सुनको मूल्यमा कमी आए पनि खपत भने कम भएको शाक्यको भनाई छ । उनका अनुसार, सुनको मूल्य बढ्दा अझै बढ्न सक्ने भन्दै किन्नेको संख्या बढ्थ्यो तर घट्दा अझै घट्ला की भन्ने आशामा किन्नेको संख्या घटेको हो । कुनै बेला दैनिक रुपमा ६० किलो सम्म खपत हुने गरेको सुन अहिले दिनमा १० किलो मात्रै खपत हुँदै आएको उनको भनाई छ ।
सुन चाँदी व्यवसायमा पनि आर्थिक मन्दीको निकै डर लाग्दो प्रभाव परेको अध्यक्ष शाक्यको भनाई छ। सुन चाँदी सबै खर्च कटाएर बचेको पैसाले खरिद गर्ने भएकाले पनि धेरैले सुन किन्न नसकेको उनको भनाई छ । कत्तीलाई घर खर्च चलाउनै हम्मे परेकाले पनि सुनको खपतमा कमी आएको उनले बताए ।
यसपालीको तिजमा खपत शुन्य जस्तै भयो, उनले भने,‘अन्य वर्षको तिजको तुलनामा यसबर्ष २० प्रतिशत पनि खपत भएन।, अघिल्ला वर्षको तिजमा देशभरमा ४० किलो बढी सुन खपत हुन्थ्योे भने अहिले तिजमा ५–६ किलो मात्रै भयो ।, अव दशै तिहार र लगनको महिनामा २०–२५ तोला खपत हुन्छ की भन्ने आशा छ ।’ अघिल्ला दशैँ तिहारमा र लगनको महिनामा ६० किलो बढी खपत हुने गरेको सुन अहिले २०–२५ तोला पनि मुस्किलले खपत होला की भन्नुपर्ने अवस्था आएको शाक्यको भनाई छ ।
नेपाली बजारमा गत साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम रहेको थियो। आज आइतवार एक हप्ताको अवधिमा सुनको मुल्यमा धेरै नै गिरावट भई छापावाला सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ। यो एक हप्ताको बिचमा मात्रै सुनको मुल्य करिव ४ हजारले घटेको छ।



































