काठमाडौं । सीजी मोटर्सले हिरो ब्रान्डको बहुप्रतीक्षित एड्भेन्चर मोटरसाइकल एक्सपल्स २१० नेपालमा बिक्री सुरु गर्ने तयारी गरेको छ। कम्पनीले शनिबारदेखि बिक्री थाल्ने घोषणा गर्दै हालका लागि बुकिङ खुला गरेको छ।
कम्पनीका अनुसार मोटरसाइकलको मूल्य ६ लाख रुपैयाँ तोकिएको छ र देशभरका डिलरमार्फत बुकिङ लिन थालिएको छ। झण्डै १० महिनाअघि नेपालमा सार्वजनिक रूपमा प्रदर्शन गरिएको यो मोडेल अब औपचारिक रूपमा बजारमा उपलब्ध हुन लागेको हो।
सीजी मोटर्सले यसअघि नाडा अटो शो २०२५ मा पनि उक्त बाइक प्रदर्शन गरेको थियो। नयाँ एक्सपल्स २१० को लन्च कार्यक्रम काठमाडौंको सल्लाघारीमा आयोजना गरिने बताइएको छ।
डुअल पर्पस सेग्मेन्टमा रहेको यो मोटरसाइकलले सीएफमोटो डुअल २५० र मोर्बिडेली २५० एक्स एड्भेन्चरजस्ता मोडेलसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।
यसमा २१० सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड, डीओएचसी, फोर भल्भ इन्जिन रहेको छ, जसले २४.६ बीएचपी पावर र २०.७ एनएम टर्क उत्पादन गर्छ। बाइकमा ६-स्पीड गियरबक्स जडान गरिएको छ।
यसको अगाडि २१ इन्च र पछाडि १८ इन्चको डुअल पर्पस टायर प्रयोग गरिएको छ। फ्रन्टमा फुल्ली एड्जस्टेबल यूएसडी फोर्क र रियरमा मोनोशक सस्पेन्सन उपलब्ध छ।
त्यसैगरी, ४.२ इन्च टीएफटी डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, एलईडी लाइटिङ, टर्न-बाइ-टर्न नेभिगेसन, स्विचेबल डुअल च्यानल एबीएस लगायतका आधुनिक सुविधा पनि यसमा समावेश छन्।


































