काठमाडौं । दसैँको समयमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन काठमाडौं उपत्यकाका ६ स्थानबाट सिलिन्डर साट्ने तथा ग्यास वितरण गर्ने व्यवस्था गरिएको छ।
नेपाल एलपी ग्यास उद्योग संघले घटस्थापनादेखि फूलपातीसम्म लागू हुने गरी यो व्यवस्था सञ्चालनमा ल्याएको हो। यसअन्तर्गत उपभोक्ताले आफूसँग रहेको कुनै पनि कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्। सिलिन्डरको ब्रान्ड परिवर्तन गर्दा थप शुल्क नलाग्ने भए पनि भरिएको ग्यासको निर्धारित मूल्य भने तिर्नुपर्नेछ।
संघका अनुसार काठमाडौंको कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबा ग्यास वितरण भइरहेको छ। त्यस्तै, बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम र सुकेधारास्थित बाबा ग्यासको डिपोबाट पनि सेवा लिन सकिनेछ।
यसैगरी, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामलाई समेत वितरण तथा सिलिन्डर साट्ने केन्द्रका रूपमा तोकिएको छ।
यी केन्द्रबाट बिहान ९ः३० बजेदेखि अपराह्न ४ बजेसम्म सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।
विशेषगरी घरमा एउटा मात्रै ग्यास सिलिन्डर भएका परिवारलाई चाडपर्वका बेला ग्यास खोज्दै विभिन्न पसल धाउनुपर्ने समस्याबाट राहत दिने उद्देश्यले यो व्यवस्था ल्याइएको संघले जनाएको छ।
सेवाको दुरुपयोग रोक्न प्रत्येक उपभोक्तालाई एउटा मात्र सिलिन्डर साट्न दिइनेछ। साथै, सेवा लिने व्यक्तिको पहिचानसम्बन्धी विवरण र मोबाइल नम्बरसमेत अभिलेखमा राखिने व्यवस्था गरिएको छ।
तर, घोषित सुविधाअनुसार सबै कम्पनीका सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासोले यसको कार्यान्वयनमाथि प्रश्न उठाएको छ। सबै तोकिएका केन्द्रले जुनसुकै ब्रान्डका खाली सिलिन्डर स्वीकार गरेमा मात्रै उपभोक्ताले यो सुविधाबाट पूर्ण लाभ लिन सक्नेछन्।


































