काठमाडौं । काठमाडौं उपत्यकामा असोज २६ देखि ३० गतेसम्म ११ वटा बिक्री केन्द्रबाट एलपी ग्यास सिलिन्डर साट्न सकिने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले चाडपर्वका बेला ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सिलिन्डर साट्ने व्यवस्था मिलाएको हो।
नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा सञ्चालन हुने यस व्यवस्थाबाट उपभोक्तालाई चाडपर्वका बेला ग्यास प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
संघका अनुसार काठमाडौंको ग्यास एन्ड अक्सिजन ट्रेडर्स, पेप्सीकोला, बालाजु औद्योगिक क्षेत्र, सुकेधारा, कलंकी, हरिसिद्धि, चपली र सतुंगललगायत स्थानमा बिक्री केन्द्र तोकिएका छन्।
संघले भदौ महिनामा मात्रै ४२ लाख ९१ हजार ६६१ सिलिन्डर ग्यास बिक्री भएको जनाएको छ। चाडपर्वका बेला उपभोक्ताको मागलाई ध्यानमा राख्दै विभिन्न स्थानमा सिलिन्डर साट्ने व्यवस्था गरिएको हो।
यद्यपि, तोकिएका केन्द्रमा काठमाडौं उपत्यकामा ग्यास बिक्री गर्ने संघका सदस्य उद्योगका सिलिन्डर मात्रै साट्न पाइनेछ। अन्य स्थानमा सिलिन्डर साटफेर गर्न नपाइने संघले स्पष्ट पारेको छ।
त्यसैले उपभोक्ताले सिलिन्डर साट्न जानुअघि सम्बन्धित केन्द्रमा आफ्नो ब्रान्डको सिलिन्डर साट्न मिल्ने वा नमिल्ने यकिन गर्नु उपयुक्त हुनेछ।







































