विराटनगर । विराटनगर विमानस्थल परिसरभित्र सञ्चालित केही होटल तथा क्याफेले यात्रुसँग अत्यधिक मूल्य असुलेको पाइएपछि प्रशासनले कडा कदम चालेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा मंगलबार साँझ गरिएको आकस्मिक अनुगमनमा चार व्यवसायीले सामानको अत्यधिक मूल्य लिएर उपभोक्तालाई ठगी गरेको पुष्टि भएपछि प्रत्येकलाई ३ लाख रुपैयाँका दरले जरिवाना गरिएको हो ।
यात्रुहरूबाट लगातार गुनासो आएपछि गरिएको निरीक्षणमा व्यवसायीहरूले बाध्यतामा रहेका यात्रुबाट सामान्य वस्तुमा पनि दोब्बरभन्दा बढी मूल्य लिने गरेको भेटिएको थियो ।
कारबाहीमा पर्नेमा ममता होटल, ग्यालेक्सी क्याफे एण्ड होटल, गरिमा क्याफे तथा अनुकुल होटल एन्ड भान्सा घर रहेका छन् ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार तत्कालै जरिवाना गरिएको र भविष्यमा यस्तो कार्य दोहोरिए थप कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।
अनुगमन टोलीमा प्रशासनसँगै वाणिज्य कार्यालय, प्रहरी तथा उपभोक्ता हित संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधिहरू सहभागी रहेका थिए ।


































