धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुक आर्थिक संकटले गुज्रिरहेका बेला सरकारले अयोग्य लडाकुलाई पैसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने बताएका छन्। अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयप्रति टिप्पणी गर्दै उनले रोजगारी र ऋण उपलब्ध गराउँदा राम्रा हुने बताएका हुन् ।
धनगढीमा पत्रकारहरुको प्रश्नको जवाफ दिंदै अध्यक्ष नेपालले भने, ‘यसबारे कुरा उठेकै हो । यस्तो बेला पैसा दिनुपर्ने कुनै विषय नै छैन ।
‘अर्थतन्त्रको अवस्था कसरी सुधार गर्ने भन्नेबारेमा हाम्राबीचमा गम्भीर रुपमा छलफल भइराखेकै छन्,’ नेपालले भने, ‘नयाँ ढंगले सोच्नुपर्ने भएको छ । कम खर्च कसरी गर्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने, अनावश्यक परियोजना सबै रोक्नुपर्छ । पैसा बाँड्ने होइन उत्पादनमुखी क्षेत्रमा लगाउनुपर्छ ।’


































