National life
cg eloctronics

ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०१ पुस २०८२, मङ्गलबार
1.8kShares
ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
muktinatha bikash bank

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् ।

फ्लोरिडाको मियामीस्थित सङ्घीय अदालतमा सोमबार दायर गरिएको मुद्दामा बिबिसीमाथि कथित मानहानि तथा फ्लोरिडा भ्रामक र अनुचित व्यापार अभ्यास ऐनको उल्लङ्घन गरेको आरोप लगाइएको छ । मुद्दामा दुई छुट्टाछुट्टै गणनाअन्तर्गत प्रत्येकका लागि पाँच अर्ब डलरभन्दा कम नहुने गरी क्षतिपूर्तिको माग गरिएको छ, जसको कुल माग कम्तीमा १० अर्ब डलर पुग्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उनासी वर्षीय राष्ट्रपति ट्रम्पले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बिबिसीले ‘मेरो मुखमा शब्दहरू राखिदिएको’ दाबी गरे । उनले उक्त वृत्तचित्र सम्पादन गर्दा ‘एआई वा यस्तै कुनै प्रविधि प्रयोग गरिएको हुनसक्छ’ भन्ने आशङ्कासमेत व्यक्त गरे र मुद्दा दायर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

सन् २०२४ को राष्ट्रपतीय चुनावअघि बिबिसीको प्रमुख समसामयिक कार्यक्रम ‘प्यानोरामा’ मा उक्त वृत्तचित्र प्रसारण गरिएको थियो । सो भिडियोमा सन् २०२१ जनवरी ६ का राष्ट्रपति ट्रम्पका भाषणका दुई फरक–फरक अंशलाई एकसाथ जोडिएको देखिन्छ, जसले उनले आफ्ना समर्थकहरूलाई क्यापिटलमा आक्रमण गर्न प्रत्यक्ष रूपमा आग्रह गरेको जस्तो देखाउने प्रयास गरिएको आरोप लगाइएको छ । त्यही दिन अमेरिकी सांसदहरू जो बाइडेनको सन् २०२० को चुनावी जित प्रमाणित गरिरहेका थिए ।

everest bank

राष्ट्रपति ट्रम्पको कानूनी टोलीका प्रवक्ताले एएफपीलाई जारी गरेको विज्ञप्तिमा ‘पहिले सम्मानित र अहिले अपमानित भइसकेको बिबिसीले सन् २०२४ को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने निर्लज्ज प्रयासस्वरूप जानाजानी, दुर्भावनापूर्ण र भ्रामक रूपमा राष्ट्रपति ट्रम्पको भाषणलाई हेरफेर गरेर उनलाई बदनाम गरेको’ आरोप लगाएका छन् । विज्ञप्तिमा बिबिसीले आफ्ना दर्शकहरूलाई धोका दिने ढाँचा लामो समयदेखि कायम राखेको र त्यो सबै आफ्नै वामपन्थी राजनीतिक एजेन्डाको सेवामा गरिएको दाबीसमेत गरिएको छ ।

बेलायत बाहिरसम्म व्यापक दर्शकवर्ग रहेको ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन पछिल्लो समय उथलपुथलको अवस्थामा छ । गत महिना एक मिडिया रिपोर्टमार्फत सम्पादन गरिएको उक्त क्लिपमा पुनः ध्यान केन्द्रित भएपछि संस्थाभित्र ठूलो विवाद उत्पन्न भएको थियो । यसै घोटालाका कारण बिबिसीका महानिर्देशक तथा संस्थाका शीर्ष समाचार कार्यकारीले पदबाट राजीनामा दिनुपरेको थियो ।

राष्ट्रपति ट्रम्पको मुद्दामा वृत्तचित्रमा सम्पादित भाषणलाई ‘२०२४ को राष्ट्रपति चुनावको ठीक एक हप्ता अघि प्रतिवादीहरूले राष्ट्रपति ट्रम्पलाई क्षति पु¥याउने, चुनावको नतिजामा हस्तक्षेप गर्ने र त्यसलाई प्रभाव पार्ने निर्लज्ज उद्देश्यले बनावटी रूपमा तयार गरी प्रसारण गरेको सामग्री’ भनेर वर्णन गरिएको छ ।

बिबिसीले भने राष्ट्रपति ट्रम्पले दायर गरेको कानूनी मानहानिको दाबी अस्वीकार गरेको छ । यद्यपि बिबिसीका अध्यक्ष समीर शाहले राष्ट्रपति ट्रम्पलाई माफीपत्र पठाएको पुष्टि भएको छ । शाहले गत महिना बेलायतको संसदीय समितिसमक्ष पनि डेली टेलिग्राफ पत्रिकामा चुहिएको एक आन्तरिक मेमोका आधारमा प्रसारणकर्ताले आफ्नो गल्ती चाँडै स्वीकार गर्दै सुधारात्मक कदम चाल्नुपर्ने अवस्था आएको स्वीकार गरेका थिए ।

बिबिसीविरुद्धको यो मुद्दा पछिल्ला वर्षहरूमा राष्ट्रपति ट्रम्पले विभिन्न मिडिया कम्पनीहरूविरुद्ध दायर गरेको कानूनी कारबाहीहरूको पछिल्लो कडी हो । तीमध्ये धेरै मुद्दाहरू अन्ततः करोडौँ डलरका सम्झौतामार्फत टुङ्गिएको उदाहरणसमेत रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?