काठमाडौँ । वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द गरिने भएको छ ।
मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने भएका कारण सफारीमा रोक लगाउन लागिएको निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुनले जानकारी दिएका छन् ।
निकुञ्जले हरेक वर्ष बर्सातको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ। गत वर्ष असार १ गतेदेखि नै बन्द गरिएकामा यस वर्ष अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गर्न लागिएको पुर्जा पुनले जानकारी दिए ।
निकुञ्जभित्रका गतिविधि बन्द भए पनि यहाँ आउने पर्यटकले मध्यवर्ती सामुदायिक वनमा हात्ती, जिप, पैदल सफारी गर्ने सक्ने राष्ट्रिय निकुञ्ज समितिले जानकारी दिएको छ ।




































