काठमाडाैं । बञ्चरडाँडा क्षेत्रका बासिन्दा पुनः आन्दोलित भएका छन् । काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ वटा नगरपालिकाले फोहोर फाल्दै आएको बञ्चरडाँडा क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् ।
संघीय सरकार र काठमाडौं महानगरपालिका समेतले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै असोज १ गतेदेखि फोहोर बिर्सजनमा रोक लगाउने उनीहरूले बताएका छन् ।
बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले भने, ‘फोहोर र मानिस सँगै बस्न सक्दैनौं ।
फोहोरको दुर्गन्धका कारण ओखरपौवा, चाउथे, ककनीसम्मका बासिन्दा घरमा बस्ने नसक्ने भएको गुनासो गरे । त्यस्तै धादिङ, धुनिबेसी नगरपालिका–१ का स्थानीय बढी चपेटामा परेको उनले बताए ।
‘सिसडोलको अवस्था पनि त्यस्तै छ। बञ्चरेडाँडामा पनि व्यवस्थित तरिकाले फोहोर फालिएको छैन । सिसडोलकै शैलीमा थुपारिएको छ । जसका कारण यो तीन महिना हामीले ज्यादै नै सास्ती व्यहोर्नुपर्यो । खेतबारीमा बालीनाली लगाउने अवस्था छैन । फोहोरको दुर्गन्धले मानिसको स्वास्थ्य त बिग्रँदो छ नै, पशुचौपायाको अवस्था पनि नाजुक बन्दै गइरहेको छ,’ उनले भने, ‘सधैँ यही कुरा गरेर आन्दोलित भइरहनुभन्दा असोज १ गतेबाट फोहोर फाल्न पूर्ण रूपमा रोक लगाउन लागेका हौं ।’
उनले यसबीचमा २७ वटा निकायलाई ध्यानाकर्षण पत्र बुझाएको बताए ।
‘प्रधानमन्त्री कार्यालयदेखि, सुरक्षा निकायसम्म पत्र बुझाएका छौं,’ उनले भने, ‘आज दिउँसो पत्रकार सम्मेलन गरेर सरकारलाई जानकारी गराउँछौं । यसबीचमा सरकारले विकल्प दियो भने हामी चुप लाग्छौं । अन्यथा असोज १ गतेदेखि हाम्रो ठाउँमा फोहोर फाल्न दिँदैनौं ।’
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित उपत्यका १८ वटाभन्दा बढी नगरपालिकाको दैनिक ११ सय बढी टन फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ ।
साउनमा सिसडोल र बञ्चरेडाँडाका नागरिक आन्दोलित भएका थिए । त्यसपछि सिसडोलको फोहोर माटोले पुर्ने, बञ्चरेडाँडामा फोहोर वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने, दुर्गन्ध कम गर्न किटनाशक औषधी छर्कनलगायत समझदारी भएको थियो ।


































