सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश सभा बैठकमा मुख्यमन्त्री यामलाल कँडेलले उक्त कार्यक्रम प्रस्तुत गरेका हुन्।
सामान्यतया प्रदेश प्रमुखले वाचन गर्ने परम्परा रहे पनि यसपटक स्वास्थ्य असहजताका कारण प्रदेश प्रमुख यज्ञराज जोशीको सट्टा मुख्यमन्त्री कँडेलले नै नीति तथा कार्यक्रम वाचन गरेका थिए।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा विगतका कार्यक्रमलाई निरन्तरता दिँदै केही क्षेत्रमा सुधारको प्रयास गरिएको छ।
स्वास्थ्यतर्फ प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने योजना पुनः समेटिएको छ। यद्यपि यससम्बन्धी काम अघिल्लो वर्षदेखि अघि बढ्न सकेको छैन।
कृषि क्षेत्रमा कृत्रिम गर्भाधान, गोठ सुधार र बाँझो जमिन उपयोगजस्ता कार्यक्रम ल्याइएको छ भने शिक्षामा १० वर्षे सुधार योजना अघि सारिएको छ। ‘एक घर, एक धारा’ अभियानलाई पनि निरन्तरता दिइएको छ।
ऊर्जा, पर्यटन र पूर्वाधार विकासका कार्यक्रमहरू पनि समावेश गरिएका छन्। रारा, शे–फोक्सुण्डो र बुलबुलेलगायतका पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्ने योजना रहेको छ भने सुर्खेत विमानस्थल विस्तार र आन्तरिक उडान विस्तारको विषय पुनः समेटिएको छ।
वन संरक्षण, जडीबुटी प्रशोधन, डिजिटल प्रणालीमार्फत प्रशासन सुधार र युवालाई लक्षित कार्यक्रमसमेत समावेश गरिएको छ। साथै, सडक सञ्जाल विस्तार र स्तरोन्नतिका लागि तीन तहका सरकारबीच सहकार्य गर्ने नीति लिइएको छ।
मुख्यमन्त्री कँडेलले ‘समृद्ध कर्णाली, सुखी कर्णालीबासी’ को लक्ष्य हासिल गर्न दीर्घकालीन योजनाअनुसार कार्यक्रम अघि बढाइएको बताएका छन्।
नीति तथा कार्यक्रमको पूर्णपाठ

































