काठमाडौँ । काठमाडौँ महानगरपालिकाले युवा लक्षित स्वरोजगार, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा यसलाई प्रमुख कार्यक्रमका रूपमा समेटिएको हो।
नगर सभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डङ्गोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी–जनजाति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, एकल महिला तथा सहिद परिवार लगायत पछाडि परेका समुदायलाई लक्षित गर्दै विशेष सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
त्यसैगरी, ‘एक वडा एक नमुना कार्यक्रम’लाई थप प्रभावकारी बनाउँदै दीर्घकालीन रूपमा संस्थागत गर्ने योजना महानगरले अघि सारेको छ।
सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरूलाई व्यवस्थापन गर्दै ‘मानवीयताको सहर’ बनाउने लक्ष्यसहित काठमाडौँलाई सडक आश्रित मानवमुक्त बनाउने अभियानलाई निरन्तरता दिने नीति लिइएको छ। साथै, परम्परागत तथा आधुनिक सीप र ज्ञानको प्रमाणीकरण गरी प्रमाणपत्र दिने व्यवस्था गर्ने योजना पनि समावेश छ।
महानगरले वातावरणीय सन्तुलन र जैविक विविधता संरक्षणका लागि टोल, विद्यालय, पार्क तथा समुदायस्तरमा चरामैत्री गतिविधि सञ्चालन गर्ने र पानीका स्रोत उपलब्ध गराउन पानी पात्र (water bowls) जडान गर्ने कार्यक्रम पनि अघि सारेको छ।
यस्तै, सम्मानित व्यक्तित्वदेखि युवा पुस्ता (जेन जेड र जेन अल्फा) सम्मलाई लक्षित विशेष कार्यक्रम सञ्चालन गर्दै सुशासन र सार्वजनिक नीतिमा उनीहरूको सहभागिता र सुझावलाई समेट्ने योजना महानगरले अघि सारेको छ।

































