National life
cg eloctronics

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता लागू गर्न प्रधानमन्त्री बालेनको आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ दिन अगाडि|०९ मंसिर २०८३, बुधबार
892Shares
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता लागू गर्न प्रधानमन्त्री बालेनको आह्वान
muktinatha bikash bank

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै कार्यान्वयन गर्न, पीडितको संरक्षण गर्न, दण्डहीनताको अन्त्य गर्दै न्याय सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गरेका छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन हुनुका साथै समतामूलक समाज निर्माणको प्रमुख चुनौती रहेको बताएका छन्।

उनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय लैङ्गिक हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै बदलिँदो परिवेशमा डिजिटल माध्यमबाट हुने हिंसा पनि थप चुनौतीका रूपमा देखा परेको बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा उतार्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा सहज पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत संरचनाको सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।

यी प्रयासलाई प्रभावकारी बनाउन कानुनको पूर्ण कार्यान्वयन, सामाजिक चेतना अभिवृद्धि, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

यसै वर्ष भदौमा भोटेकोशी क्षेत्रमा गएको बाढीबाट भएको क्षतिको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।

everest bank

अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आम नागरिकको सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि उनले आह्वान गरेका छन्।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष पनि आजदेखि सुरु भएको हो।

संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘महिला तथा बालिकामाथिको हिंसा अन्त्य गर्न एकजुट होऔँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ अभियान सञ्चालन गर्न आह्वान गरेको छ।

नेपालमा भने ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित अभियान सञ्चालन भइरहेको छ।

प्रधानमन्त्री शाहले अभियानका क्रममा सञ्चालन हुने विभिन्न कार्यक्रमले लैङ्गिक हिंसामुक्त, न्यायपूर्ण र समतामूलक समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै अभियानको सफलताको कामना गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
892SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?