जनकपुरधाम । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलले मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता गर्दै अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा छलफल गरेको छ।
अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा पुगेको टोलीसँग मन्त्री भट्टराईले निजी क्षेत्रसँग संवाद बढाउने उद्देश्यले बैठक आयोजना गरेका थिए। छलफलका क्रममा अटोमोटिभ क्षेत्रलाई प्रादेशिक अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै यसले कुल सरकारी राजस्वमा उल्लेखनीय योगदान गर्नुका साथै ठूलो संख्यामा रोजगारी सिर्जना गरेको जानकारी दिइएको थियो।
नाडाले छलफलमा तीन प्रमुख विषय उठाएको थियो— कर संरचनामा दीर्घकालीन स्पष्टता, माध्यमिक शहरहरूमा डिलरशिपमार्फत विद्युतीय सवारी चार्जिङ पूर्वाधार विस्तार, र ईभी प्रविधिमा सेवा प्राविधिकलाई पुनः तालिम दिन प्रादेशिक सहयोग।
अध्यक्ष उप्रेतीले कर छुटभन्दा नीतिगत स्पष्टता आवश्यक रहेको धारणा राख्दै लगानीमैत्री वातावरण सिर्जना गर्न दीर्घकालीन नीतिगत स्थिरता अपरिहार्य रहेको बताए। साथै, अर्थ मन्त्रालयसँग नियमित संवाद संयन्त्र स्थापना गर्न प्रस्ताव समेत गरिएको थियो।
बैठकको अन्त्यमा अर्थमन्त्री भट्टराईले प्रदेशमा लगानीको वातावरण सुधार गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउँदै आर्थिक विकासमा उनीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
छलफलमा श्रम तथा यातायात मन्त्री शारदा देवी थापा, राजस्व अधिकृत जयकुमार राउत तथा नाडाका निवर्तमान अध्यक्ष करण चौधरी, सल्लाहकार राजनबाबु श्रेष्ठ र महासचिव मिलनबाबु मल्ललगायतको उपस्थिति रहेको थियो।






























