काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन बेटिङ, क्रिप्टोकरेन्सी तथा अश्लील सामग्री प्रसारण गर्ने वेबसाइट र एपमाथि पहुँच रोक्न इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई पुनः निर्देशन दिएको छ।
प्राधिकरणले शनिबार सूचना जारी गर्दै नेपालमा गैरकानुनी मानिएका अनलाइन प्लेटफर्म तथा गतिविधि सञ्चालन हुन नदिन तत्काल आवश्यक व्यवस्था मिलाउन सेवा प्रदायकलाई ताकेता गरेको हो।
नेपालको प्रचलित कानुनले अनलाइन जुवा तथा बेटिङ, क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, बालयौनजन्य सामग्री तथा अश्लील सामग्रीको प्रकाशन र पहुँचमा रोक लगाएको प्राधिकरणले जनाएको छ।
यस्ता गैरकानुनी गतिविधि तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट र एप नेपालभित्र सञ्चालन तथा पहुँच हुन नसक्ने गरी रोक लगाउन प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएको छ।
निर्देशन पालना नगर्ने दूरसञ्चार सेवा प्रदायकमाथि दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ।
यसअघि पनि प्राधिकरणले पटक–पटक यस्ता प्लेटफर्म बन्द गर्न निर्देशन दिँदै आएको थियो। तर प्रतिबन्धित वेबसाइट तथा एपमा अझै पहुँच भइरहेको पाइएपछि प्राधिकरणले पुनः ताकेता गर्दै निर्देशन कार्यान्वयनमा कडाइ गर्ने जनाएको हो।


































