काठमाडौं: प्रधानमन्त्रीको भारतको राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायीहरूले बताएका छन्। होटल संघ नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजङ्ग पाण्डेले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्। उनीहरू प्रधानमन्त्रीको भ्रमणदलमा बिजनेस डेलिगेसनका सदस्यका रूपमा सहभागी थिए।
विज्ञप्तिमा भैरहवा एयर रुट र अयोध्या-जनकपुर रेल सेवालगायत पर्यटकीय सर्किटको सञ्जाल विस्तारबाट भारतीय पर्यटकको आगमन सङ्ख्या दोब्बरले वृद्धि गर्न सकिने उल्लेख छ। दुई देशका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलबिच भएका छलफल र १० बुँदे अवधारणापत्रमा पर्यटन क्षेत्रको महत्व र आर्थिक समृद्धिको विषय समावेश हुनु स्वागतयोग्य भएको व्यवसायीहरूको भनाइ छ। नयाँ दिल्लीमा सम्पन्न नेपाल-इन्डिया बिजनेस राउन्ड टेबलमा समेत द्विपक्षीय पर्यटन प्रवर्धनको विषयले प्राथमिकता पाएको थियो।
भ्रमणका क्रममा पर्यटन व्यवसायीहरूले आफ्ना भारतीय समकक्षी तथा सरोकारवालाहरूसँग नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण छलफल गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “भ्रमणका अवसरमा दुई देशी बिच भएको समझदारीको १० बुँदामध्ये अयोध्या-जनकपुर रेल सञ्चालनले जनकपुरलगायत नेपालको पर्यटन विकासमा ठुलो प्रभाव पार्ने छ।”
यस अवसरको पूर्ण लाभ लिन सङ्घीय र प्रदेश सरकार तथा निजी क्षेत्रले योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्। जनकपुर आउने भारतीय पर्यटकलाई काठमाडौँ, पोखरा, मुक्तिनाथ, चितवन र लुम्बिनीलगायतका अन्य गन्तव्यमा आकर्षित गर्ने व्यवस्था गर्न सके भ्रमण अझ फलदायी हुने उनीहरूको निष्कर्ष छ।


































