काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा रहेको कोषको खातामा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ ।
त्यसैगरी, कोषअन्तर्गतका अन्य दुई बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ३७ लाख ६ हजार ५७५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।
यसैबीच, केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिएको थियो ।
विपद्का घटनामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी कोषमा विभिन्न व्यक्ति, संस्था तथा निकायबाट सहयोग रकम जम्मा हुँदै आएको छ।


































