काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।
आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार विवरण बुझाउनुपर्ने धेरै व्यक्तिहरू विदेशमा रहेका र कतिपयलाई आवश्यक कागजात संकलन गर्न कठिनाइ भएको गुनासो आएपछि समय थप गरिएको हो ।
यसअघि आयोगले जेठ १ गते सूचना जारी गर्दै पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका पदाधिकारीलाई जेठ मसान्तभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो ।
तर निर्धारित समय सकिन केही दिन मात्र बाँकी रहँदा करिब ३ हजार ५०० जनाले मात्रै विवरण बुझाएको जानकारी आयोगले दिएको छ ।
आयोगका प्रवक्ता गणेश केसीका अनुसार विवरण बुझाउनेको भीड र सहजतालाई ध्यानमा राख्दै अन्तिम पटकका लागि समय थपिएको हो । साथै, हालसम्म प्राप्त विवरणहरूको जाँच प्रक्रिया सुरु गर्ने तयारी समेत भइरहेको उनले जानकारी दिए ।


































