काठमाडौं । थाइल्याण्डको पर्यटक भिसा प्रक्रियामा देखिएको अव्यावहारिक झन्झट, अत्यधिक ढिलाइ र त्यसबाट सिर्जित आर्थिक जोखिम तत्काल समाधान नभए थाइल्याण्डलाई कालोसूचीमा राख्ने कडा चेतावनी ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दिएको छ।
नाट्टाले एक प्रेस विज्ञप्ति जारी गर्दै थाइल्याण्डका लागि पारदर्शी, व्यावहारिक, समयबद्ध र न्यायोचित भिसा प्रणाली तत्काल कायम नगरिए आउटबाउन्ड टुरिजम (नेपाली पर्यटक विदेश पठाउने कार्य) का लागि थाइल्याण्डलाई कालोसूचीमा राखेर सम्पूर्ण पर्यटकीय गतिविधि स्थगित गर्न बाध्य हुने जनाएको हो।
नाट्टाका महासचिव राजकुमार देवकोटाद्वारा जारी विज्ञप्ति अनुसार समस्या समाधान नभए नाट्टाले आफ्ना सम्पूर्ण सदस्य एजेन्सीहरूलाई कडा कदम चाल्न आह्वान गर्ने उल्ले छ ।
नाट्टाका अनुसार थाइल्याण्डका नयाँ टुर प्याकेज बिक्री, वितरण तथा प्रवर्द्धन पूर्ण रूपमा स्थगित गर्ने, विज्ञापन, डिजिटल मार्केटिङ तथा सार्वजनिक प्रवर्द्धनात्मक कार्यक्रमहरू रोक्ने, नयाँ ग्रुप बुकिङ र टुर सिरिज सञ्चालन पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ ।
नेपाली यात्रुहरूलाई अन्य सुरक्षित, सहज एवं वैकल्पिक अन्तर्राष्ट्रिय गन्तव्य रोज्न प्रोत्साहन गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । भिसा नआउँदै लाखौँ डलर जोखिममा पारेर थाइल्याण्डले दु:ख दिएको पनि नाट्टाको दाबी छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार हाल भिसा स्वीकृत हुने कुनै ग्यारेन्टी नहुँदा पनि आवेदकले अनिवार्य रूपमा अग्रिम हवाई टिकट र होटल बुकिङ पेस गर्नुपर्ने बाध्यता सिर्जना गरिएको छ । थाई एयरवेज तथा थाई लायन एयरलगायतका अधिकांश टिकटहरू फिर्ता नहुने वा उच्च रद्द शुल्क लाग्ने खालका हुन्छन्।
सम्पूर्ण कागजी प्रक्रिया पूरा गर्दा समेत भिसा अस्वीकृत हुने वा यात्राको मिति सकिएपछि मात्र निर्णय आउने गर्दा नेपाली यात्रु र ट्राभल व्यवसायीहरूको लाखौँ अमेरिकी डलर बराबरको रकम जोखिममा परेको नाट्टाको भनाइ छ।
विश्वव्यापी मान्यताप्राप्त अनलाइन बुकिङ प्लेटफर्ममार्फत गरिएको बुकिङलाई समेत अस्वीकार गर्दै सम्बन्धित होटलबाटै छुट्टै कन्फर्मेसन लेटर मागिनु आपत्तिजनक र प्रक्रियालाई झन्झटिलो बनाउने कार्य भएको नाट्टाले जनाएको छ।
भिसा प्रक्रियाको नाममा अग्रिम रकम असुल्ने तर भिसा नआउँदा रकम फिर्ता नहुने व्यवस्थाले संगठित आर्थिक शोषण भइरहेको त छैन भन्ने गम्भीर आशंका उब्जाएको भन्दै नाट्टाले यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ।
नेपाली ट्राभल एजेन्सीहरूले दशकौँदेखि थाइल्याण्डको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउँदै आएको स्मरण गराउँदै नाट्टाले यसको बदलामा नेपाली यात्रुले सम्मानजनक र समयबद्ध भिसा पाउनु स्वाभाविक अधिकार भएको उल्लेख गरेको छ।
भिसाको ग्यारेन्टी छैन भने जबर्जस्ती आर्थिक जोखिम पनि स्वीकार्य छैन भन्दै नाट्टाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय तथा नेपालस्थित रोयल थाई एम्बेसीलाई तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी समस्याको निकास निकाल्न जोडदार माग गरेको छ। चाडपर्वको समय नजिकिँदै गर्दा तत्काल निकास नआए नेपाली यात्रुहरू थप ठूलो आर्थिक मारमा पर्ने चेतावनीसमेत दिइएको छ।






































