National life

भारत र चीनका लागि पाण्डे र शर्मा राजदूतमा सिफारिस

सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि नेपाली राजदूतमा क्रमशः डा. निश्चलनाथ पाण्डे र डा. कल्याणराज शर्माको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रिक्त रहेका राजदूत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्ने क्रममा भारत र चीनका लागि विज्ञताका आधारमा पाण्डे र शर्मालाई अघि सारेको हो ।

max lubricant tata
Aarthik voice
Aarthik voice
१० घण्टा अगाडि|०३ असोज २०८३, शनिबार
1.2kShares
भारत र चीनका लागि पाण्डे र शर्मा राजदूतमा सिफारिस
ncell

काठमाडौं । सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि नेपाली राजदूतमा क्रमशः डा. निश्चलनाथ पाण्डे र डा. कल्याणराज शर्माको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रिक्त रहेका राजदूत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्ने क्रममा भारत र चीनका लागि विज्ञताका आधारमा पाण्डे र शर्मालाई अघि सारेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भारतका लागि निश्चलनाथ पाण्डे

भारतका लागि सिफारिस भएका डा. निश्चलनाथ पाण्डे नेपालको वैदेशिक नीति तथा दक्षिण एसियाली मामिलाका अध्येता हुन् । उनी हाल सेन्टर फर साउथ एशियन स्टडिज (CSAS) का निर्देशकका रूपमा कार्यरत छन् ।

पाण्डेले यसअघि परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामला अध्ययन प्रतिष्ठान (IFA) को कार्यकारी निर्देशकका रूपमा सन् १९९८ देखि २००६ सम्म काम गरेका थिए । त्यस्तै, उनले सन् १९९६–९७ मा राष्ट्रिय योजना आयोगमा पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी सल्लाहकारको जिम्मेवारी सम्हालेका थिए ।

उनी सन् २०१६ मा सत्य निरूपण तथा मेलमिलाप आयोगका विज्ञ तथा सन् २०१७ मा नेपाल सरकारको उच्चस्तरीय परराष्ट्र नीति कार्यदलका सदस्यसमेत थिए ।

पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि तथा कानूनमा स्नातक गरेका छन् । उनी भारतको नेशनल इन्स्टिच्युट अफ एडभान्स्ड स्टडिज, बेंगलुरुका मानार्थ सहप्राध्यापक तथा नेशनल युनिभर्सिटी अफ सिंगापुरको इन्स्टिच्युट अफ साउथ एशियन स्टडिजका नन–रेजिडेन्ट सिनियर फेलो हुन् । यसअघि उनले सोही संस्थामा भिजिटिङ रिसर्च फेलोका रूपमा समेत काम गरेका थिए ।

उनले जर्मनीको बर्लिनस्थित एसडब्ल्यूपी तथा बेलायतको युनिभर्सिटी अफ हलमा भिजिटिङ फेलोशिप गरेका छन् । सन् २०११ देखि २०१९ सम्म कोलम्बोस्थित क्षेत्रीय रणनीतिक अध्ययन केन्द्रको सञ्चालक समितिमा समेत रहेका थिए ।

दक्षिण एसिया, नेपालको परराष्ट्र नीति र क्षेत्रीय सहकार्यका विषयमा उनका तीनवटा पुस्तक तथा दर्जनभन्दा बढी सम्पादित कृति प्रकाशित छन् । सन् २०१५ मा उनले हार्भर्ड केनेडी स्कुलबाट ‘साउथ एशिया लिडर एक्जिक्युटिभ प्रोग्राम’ पूरा गरेका थिए ।

पाण्डे पूर्वपरराष्ट्रमन्त्री तथा पञ्चायतकालीन नेता डा. रमेशनाथ पाण्डेका छोरा हुन् ।

चीनका लागि कल्याणराज शर्मा

चीनका लागि सिफारिस भएका डा. कल्याणराज शर्मा नेपाल–चीन सम्बन्ध, चीन अध्ययन तथा अर्थशास्त्रका विज्ञका रूपमा परिचित छन् । प्राज्ञिक क्षेत्र, संस्थागत सुशासन र द्विपक्षीय नीतिगत सहकार्यमा दुई दशकभन्दा बढी अनुभव रहेको उनीसँग छ ।

शर्माले चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार तथा पर्यटन वित्तपोषणमा केन्द्रित हुँदै अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

उनी फुदान युनिभर्सिटी एलुम्नाई एसोसिएसन नेपाल, नेपाल–चीन फ्रेन्डशिप फोरम तथा काउन्सिल अफ सिनोलोजिस्ट्स–नेपालका अध्यक्ष हुन् । नेपाल–चीन फ्रेन्डशिप फोरमको अध्यक्षका रूपमा उनी सन् २०१३ देखि आबद्ध रहेको जनाइएको छ ।

शर्मा काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा भिजिटिङ स्कलरका रूपमा समेत कार्यरत छन् । उनले त्यहाँ ‘डुइङ बिजनेस इन चाइना’ विषयको पाठ्यक्रम विकास गरी अध्यापन गर्दै आएका छन् ।

व्यावसायिक क्षेत्रमा समेत सक्रिय शर्मा एडभेन्चर आउटडोर एक्स्कर्सन प्रालिका प्रबन्ध निर्देशक हुन् । उनी हिमालयन तथा सीमापार पर्यटन प्रवर्द्धनमा काम गर्दै आएका छन् । त्यस्तै, एपेक्स फण्ड्स लिमिटेडसहित विभिन्न जलविद्युत तथा ऊर्जा कम्पनीका स्वतन्त्र सञ्चालकका रूपमा समेत उनले जिम्मेवारी सम्हालेका छन् ।

नेपाल–चीन सम्बन्धमा योगदान पुर्‍याएको भन्दै शर्मालाई सन् २०१६ मा ‘नेपाल भूषण’ र सन् २०२१ मा ‘सिल्क रोड फ्रेन्डशिप अवार्ड’ प्रदान गरिएको थियो । ‘सिल्क रोड फ्रेन्डशिप अवार्ड’ प्राप्त गर्ने विश्वभरका सीमित व्यक्तिमध्ये आफू पनि एक रहेको उनको परिचयमा उल्लेख छ ।

शर्माले नेपाल–चीन आर्थिक कूटनीति, व्यापार तथा बेल्ट एन्ड रोड सहकार्यका विषयमा विभिन्न अध्ययन, विश्लेषण तथा सार्वजनिक बहसमा सहभागिता जनाउँदै आएका छन् ।

भारत र चीन दुवै नेपालको आर्थिक, राजनीतिक तथा रणनीतिक सम्बन्धका दृष्टिले महत्वपूर्ण छिमेकी मुलुक हुन् । राजदूतका लागि सिफारिस भएका पाण्डे र शर्माको नाम अब संसदीय सुनुवाइ प्रक्रियामा जानेछ । सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त गर्ने प्रक्रिया अघि बढ्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?