काठमाडौं: पूर्वी नेपाल र भारतको सिक्किम सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। युरोपेली-भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार नेपाली समयअनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
भूकम्पको केन्द्रबिन्दु २७.८३२८ उत्तरी अक्षांश र ८७.९४६७ पूर्वी देशान्तरमा अवस्थित छ। जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको यो भूकम्प भारतको सिक्किमस्थित ग्याल्सिङबाट ६८ किलोमिटर उत्तर-पश्चिम र दार्जिलिङबाट ९४ किलोमिटर उत्तर-उत्तरपश्चिम क्षेत्रमा केन्द्रित रहेको छ। सो स्थान नेपालको ताप्लेजुङ जिल्लाको पूर्वी क्षेत्र आसपास पर्दछ।
भूकम्पको धक्का पूर्वी नेपालका पहाडी तथा तराईका जिल्लाहरूमा महसुस गरिएको छ। त्यसैगरी भारतको सिक्किम र पश्चिम बङ्गालका विभिन्न क्षेत्रमा पनि भूकम्पको प्रभाव परेको छ।


































