काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको बेइजिङमा भेटवार्ता भएको छ।
उक्त भेटवार्ताको अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ। भेटका क्रममा चीनका उपप्रधानमन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने जनाएका छन् ।
अर्थमन्त्री पौडेलले केरुङ–काठमाडौँ रेल निर्माण, टोखा–छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गरेका छन् ।
साथै, अर्थमन्त्री पौडेलले चीनका विभिन्न सहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा विस्तारका लागि सहयोग गर्न आग्रह गरेका छन्। करिब एक घण्टा भएको भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यबहाक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरू सहभागी थिए।
उता चीन सरकारको तर्फबाट उपप्रधानमन्त्री हि लिफेङ, यातायात मन्त्री लि स्याओफङ, बेइजिङ महानगरका मु फङ, नेशनल रेलवे एडमिनिस्ट्रेसनका प्रमुख फे दोङ विङ, नागरिक उडड्यन प्रमुख सोङ च्योङ लगायतको उपस्थित नेपालको विकाशका लागि आगामी दिनमा थप सहयोग गर्ने हि लिफेङले प्रतिबद्धता जनाएका छन्।
भ्रमण टोलीमा रहेका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त भएको उल्लेख गरेका हुन् ।


































