काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने समयमा सांसदहरूले दिएको सुझावलाई समेटेर बजेटको खाका तय गर्ने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।
आज बुधवार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले संविधानमा उल्लेख भए अनुसारको समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासका लागि केही ठोस आधार तयार हुने किसिमको बजेट ल्याउने र त्यसका निमित्त सबै सांसदहरूको राज सुझावको सम्बोधन गर्ने बताएका छन् ।
उनले पूर्व अर्थमन्त्री महतले संसद्मा प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता परिवर्तन नगरे पनि त्यसमा सांसदहरूको सुझावलाई समेटेर लैजाने बताएका छन्।
मन्त्री पुनले भने– ‘कतिपय सांसदले परिवर्तित परिस्थितिमा पुनर्लेखन हुनुपर्ने बताएको उल्लेख गरे।
विद्यमान कानुनी व्यवस्थाअनुसार पुनः विनियोजन विधेयकमा सिद्धान्त र प्राथमिकता पेस गर्ने व्यवस्था नभएकोले सांसदहरूले दिएको सुझाव समेतका आधारमा बजेट तर्जुमा गरिनेछ ।’
उनले पूर्व अर्थमन्त्री महतले पेस गरेको नीति र सिद्धान्त संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख हुन नसकेको र सामाजिक न्यायको एजेन्डालाई उपेक्षा गरेको भन्दै सांसदहरूले चिन्ता र चासो राखेको बताएका छन् । उनले आगामी बजेट १६ औँ योजनाको सोच अनुसारको पहिलो वर्षको प्रमुख कार्यहरू गर्ने वर्ष हुने बताए ।


































