काठमाडौँ। कृषि बीमाका लागि कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले ९७ करोड रुपैयाँ स्वकृति हुने तयारी रहेको बताएकी छिन् ।
नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१ः२०१५ को लोकार्पण कार्यक्रममा बोल्दै मन्त्री शााहले कृषि बीमा कम्पनीलाई ९७ करोड रुपैयाँ भुक्तानीका लागि स्वकृति हुने अवस्थामा रहेको बताएकी हुन् ।
सरकारले कृषि तथा पशुको बीमामा अनुदान दिँदै आएको छ त्यसका लागि चालु आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने रकम ३ अर्बमध्ये १ अर्ब ९३ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । ‘बीमा कम्पनी बन्द हुने अवस्थामा रहेको थियो,’ उनले भनिन्, ‘बीमा कम्पनी हाल सञ्चालनमा आएको छ।
अनुदान बापत सरकारले ३ अर्ब रकम दिन बाँकी थियो, १ अर्ब ४५ करोड पाइसकेको छ । ९७ अर्ब स्वकृति हुने अवस्थामा छ । ४८ करोड रुपैयाँ रकम मैले नै भुक्तानी गराएको हुँ ।’
मन्त्री साहले पशु वा कृषि बीमाबारे आम नागरिकलाई जानकारी नरहेको बताएकी छन् । सोबारे सचेतना फैलाउनुपर्ने बताएकी छिन्। ‘कृषि तथा पशुको बीमा हुन्छ, कतिपयलाई थाहा नै छैन यसबारे सचेतना फैलाउन जरुरी छ,’ उनले भनिन्, ‘लम्पी स्किन रोगका समयमा हामीले किसानलाई मलम लगाउन सकेनौँ, बीमामा किसानको प्रत्यक्ष पहुँच हुन सकेको छ वा छैन त्यसबारे अनुगमन गर्नुपर्छ ।’


































