काठमाडौँ । सहकारी अपचलन छानबिन गर्न गठित संसदीय विशेष समितिले उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेको संलग्नतासहितका ९ सहकारीको कागजात झिकाउने निर्णय गरेको छ।
आज बसेको छानबिन समितिको बैठकले ९ सहकारी संस्थाको कागजात सरोकारवाला निकायबाट झिकाएर अनुसन्धान अगाडि बढाउने निर्णय गरेको हा ।
बैठकले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्य दर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय गरेको समितिका सभापति सूर्य थापाको जनाएका छन्।
रवि लामिछाने पनि सहकारी प्रकरणमा जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो।
ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीवी राई र रास्वपा सभापति लामिछानेको नाम सहकारी ठगी प्रकरणमा मुछिएको हो ।
रवि र जीवीको समूहले पोखराको सूर्य दर्शन सहकारी, बुटवलको सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगन्जको सानो पाइला, काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोप छ । यता रविले भने जीवी राई मलेसियामा रहेको र छिट्टै नै नेपाल ल्याउने विषयमा काम अगाडि बढेको जानकारी दिएका छन् ।

































