काठमाडौं । महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन्।
पौडेलले राजश्व संकलनमा रहेका त्रुटिहरु सुधार गर्न र नयाँ लक्ष्य हासिल गर्न कडा मेहनतको आवश्यकता रहेको बताएका छन् । ‘अहिले बजेटमा जुन राजश्वको लक्ष्य निर्धारण गरिएको छ, त्यसलाई पुरा गर्न कडा मेहनतको आवश्यकता छ। यहाँ सबै प्रकारका त्रुटिहरु, कमी कमजोरीहरु छन् र त्यसलाई सच्चाउनुपर्ने छ,’अर्थमन्त्री पौडेलले भने।
विगतमा राजश्वको लक्ष्य पूरा हुन नसकेको अनुभवले आगामी दिनमा नयाँ लक्ष्य प्राप्त गर्न थप मेहनतको आवश्यकता रहेको उनले बताए। अन्तराष्ट्रिय परिस्थिति, क्षेत्रीय तथा राष्ट्रिय परिस्थितिको प्रभाव, र समग्र माग तथा उत्पादनमा आएको न्यूनताको प्रभावले रोजगार र उपभोगमा असर परिरहेको छ। आयात९निर्यात र उत्पादनमा पनि कमी आएकोले यसलाई ध्यानमा राख्दै समग्र माग, रोजगारी, उत्पादन, र उत्पादकत्व बढाउन प्रभावकारी कदम उठाउनुपर्नेमा उनले जोड दिए।
अर्थमन्त्री पौडेलले विगतमा करका दरहरू हेरफेर गर्दा त्यसको प्रभाव राजश्व संकलनमा के कस्तो परेको हो भनी अध्ययन अनुसन्धान गरेर समीक्षा गर्ने योजना सुनाए।
राजश्व प्रशासनको प्रभावकारी परिचालन गर्दै, राजश्व प्रशासनलाई अनुशासित बनाउँदै, सबै प्रकारका लिकेज र सिकेजहरुलाई टाल्दै, यो अवस्थामा गर्न सकिने अधिकतम राजश्व संकलन गर्ने योजना छ। एकतर्फ राजश्व प्रशासनलाई अनुशासित बनाउने, लक्ष्य पुरा गर्न सक्नेगरी परिचालन गर्ने, चुहावटलाई नियन्त्रण गर्ने, र अर्कोतर्फ व्यावसायीहरुलाई उत्पादन गरि मुनाफाबाट कर तिरी सम्मानित नागरिक बनाउने विषयलाई समानान्तर लैजान खोजिरहेका छौँ,’पौडेलले भने।
उनले पुजीबजारलाई वास्तवमै अर्थतन्त्रको ऐनाको संज्ञा दिँदै सरकार पुजीँबजारको विकासको सन्दर्भमा पारदर्शि, परिपक्क ढंगले काम गर्ने बताए।

































