काठमाडौँ । एमालेका पूर्व उपाध्यक्ष समेत रहेका भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण आफ्नो पार्टी सदस्यता खारेज गरिदिएको आरोप लगाएका छन् ।
बुधवार पत्रकार सम्मेलन गर्दै रावलले वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण सदस्यता समेत खारेज गरिदिएको र यो पार्टीको विधिसम्मत नभएको आरोप लगाएका छन् । उनले पत्रकार सम्मेलन मार्फत ओलीलाई प्रश्न गरेका छन् उम्मेदवारी दिएकै आधारमा पार्टीको सदस्यता खाइदिन मिल्छ र? भनेर ।
त्यसक्रममा उनले दुई दिनसम्म प्रतिनिधिहरूलाई अलपत्र पारेको, अन्यलाई एक एक गरेर बोलाएर धम्क्याएको, चुन्ने र चुनिने अधिकारको अभ्यास गर्नु गलत हो र ? भन्दै प्रश्न गरे ।
रावलले महाधिवेशनका बेला आफूनिकट प्रतिनिधिहरूलाई धम्क्याएको, सदस्य पदमा मतदान नगर्नु भनेर भनेको जस्ता विषय हास्यास्पद भएको बताए । रावलले आफूलाई एमालेले सोधेको स्पष्टीकरण पनि विधिसम्बत नरहेको भन्दै स्पष्ट पारेका छन् ।
नेता रावलले केपी ओलीले आफ्नो एमालेको सदस्यता खोसेर खाइदिएपछि आफू नयाँ बाटो मोड्न बाध्य भएको बताए । ‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रूपमा जीवनपर्यन्त रहिरहने मेरो अवस्था रहेन। त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ’ रावलले भने।
रावलले पछिल्लो समय देशको अर्थतन्त्र थप दलदलमा पर्दै गइरहेको बताए । । सत्तामा बस्नेहरु भ्रष्टाचारमा लिप्त भइरहेको उनको आरोप छ ।
साथै नेता रावलले केपी ओली सत्ता र पद हत्याउने होडको कारणले ठूला दलहरू सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेको दोष लगाएका छन् । २०७८ सालमा दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसपछि पार्टीमा निष्क्रिय जस्तै रहेका थिए।


































