काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटका कारण सहकारी क्षेत्र धरमराएको बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३औं वार्षिक साधारण सभाको सम्बोधन गर्दै सचिव दुवाडीले सहकारीहरू सहकारीको रूपमा नचल्दा बचतकर्ता पीडित भएर माइतीघरमा आन्दोलन गर्ने अवस्था आएको बताएका छन् ।
ऋण गलत ठाउँमा गएको र बचतकर्तालाई ऋण नदिने सञ्चालकले ऋण चलाउने गरेकाले बचतकर्ताले बचत फिर्ता पाउन नसकेको सचिव दुवाडीको बुझाइ छ । सहकारीले श्वेतपत्र सार्वजनिक गरेर बचतकर्तालाई वास्तविक कुरा जानकारी गराउने हो भने समस्या कम हुने दुवाडीको भनाई छ ।
सहकारीका सञ्चालकले सम्पत्ति विवरण बुझाउँदा कुनै समस्या नहुने सचिव दुवाडीको भनाइ छ । ‘सबैले विवरण पठाउने हो भने नियामक निकायलाई काम गर्न सजिलो हुन्छ,’ उनले भने । सहकारी क्षेत्रमा देखिने गरी एक-दुई महिनामा केही काम हुने उनले जानकारी गराए । महासंघसँग समन्वय गरेर सहकारीको लेखा जाँच गर्ने भन्दै त्यसका लागि सहयोग गर्न महासंघलाई उनले आग्रह गरेका छन् ।
कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेले सहकारीले ऐन कानुन अक्षरशः पालना गर्नुपर्ने बताए । सहकारी सुधार कार्यदलले दिएको सुझाव विभागले कार्यान्वयन गर्ने उनले जानकारी गराए । विभागमा बचत फिर्ताको माग राखेर धेरै बचतकर्ता आउने गरेको भन्दै उनले चैत मसान्तमा समस्यामा परेका सहकारीले बचत फिर्ता गराउन विभागले जोड दिएको बताए ।


































