काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण निर्माण गर्न कानुन संशोधन गरेर भए पनि अगाडि बढ्ने बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्र सुधारको अवस्थामा रहेको भन्दै व्यवसायीलाई निराश नबन्न आग्रह गरेका छन्।
‘हामी सरकारमा आउँदै गर्दा आर्थिक अवस्था, सामाजिक अवस्था लगायतमा समस्याको चाङ थियो, यो सरकार बनेपछि मानिसमा आशाको सञ्चार भएको छ’, अर्थमन्त्री पौडेलले भने उद्योगी व्यापारीका समस्या हुन्छन्, मजदुरका समस्या हुन्छन्, किशोर किशोरीको समस्या अब समाधान हुन्छन् भन्ने आम नागरिकमा विश्वास हुँदै गएको छ ।’
सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउने तर्फ उन्मुख रहेको बताएका छन्।
‘पूर्ण क्षमताको विमानस्थल सञ्चालन गर्न थप पूर्वाधार निर्माण आवश्यक छ’, उनले भने, ‘एकाध समस्या आए पनि त्यसलाई समाधान गर्दै अगाडि बढदैछौँ । ’ मन्त्री पौडेलले भैरहवालाई समुन्नत र आधुनिक सहरका रूपमा विकास गरिने धारणा राखे।


































