काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिक रूपमा वृद्धि गर्ने बताएका छन्।
कृषि तथा तरकारी बजारको १३औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले कृषि उपजको बढ्दो आयात घटाउन उत्पादन वृद्धि अपरिहार्य भएको बताएका छन् । साथै उनले कृषि क्षेत्रमा समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए।
तरकारीमा विषादीको अत्यधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री अधिकारीले यसलाई न्यूनीकरण गर्न जरुरी रहेको बताए।
आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले तल्लो तहका किसानको हित संरक्षणका लागि हर सम्भव प्रयत्न गर्ने दृढता व्यक्त गरे। उनले मानव स्वास्थ्यमा प्रभाव पार्ने विषादी प्रयोग नगरी बाली लगाउन किसानलाई आग्रह गरे।
मन्त्री अधिकारीले कृषि उपजको उत्पादनसँगै यसको बजारीकरणमा कुनै समस्या किसानले भोग्न नपरोस् भन्ने आफ्नो चाहना रहेको बताए। काठमाडौँ महानगरपालिका–१४ वडाध्यक्ष सुमन श्रेष्ठले बिचौलियाका कारण वास्तविक किसानले आफ्ना उत्पादनको मूल्य नपाएका उल्लेख गरेका छन् ।


































