काठमाडौं। सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था’विषयक अन्तरक्रियामा आफ्नो धारणा राख्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्षमताभन्दा बढी ऋण लिनेहरुको संख्या बढेको कारण बर्तमान समयको समस्या निम्तिएको बताएका छन्।
गभर्नर अधिकारीले बैंकले पनि ऋण लिने व्यक्ति वा संस्थाको क्षमता जाजबुझ नगरीकन ऋण दिँदा समस्या भएको बताएका हुन्। क्षमताभन्दा बढी ऋण लिएका कारण ऋणीले समयमा तिर्न नसकेको कारण आर्थिक मन्दीको स्थिती सृजना भएको उनको भनाइको आशय छ ।
अहिले निर्माण क्षेत्रमा सुस्तता रहेको भन्दै उनले यसलाई गति दिन सके अर्थतन्त्र चलायमान हुने बताएका छन् ।
अर्थतन्त्र संकुचनमा रहेको कारण बजारमा मागमा कमी आएको छ । त्यसैले अहिले ठूला ऋणीले ऋण माग्न सक्ने अवस्था नरहेको गभर्नर अधिकारीको भनाई छ । यो वर्ष खराब कर्जा बढेको भन्दा पनि बैंकिङ क्षेत्रको वास्तविकता बाहिर आएको अधिकारीले बताए । यसलाई अन्यथा लिन नहुने भन्दै उनले नेट एनपीए १.४० प्रतिशत हाराहारी रहेको बताएका छन् ।
‘त्यसैले आत्तिनु पर्ने अवस्था छैन' उनले भने, ‘अहिले सेयरधनीलाई लाभांश नदिएर भए पनि प्रणाली सुधारमा लाग्न आवश्यक छ।’ उनले अहिले कुनै एक बैंक डुब्न लाग्यो भनेर खुसी हुँदा त्यसले अरुलाई पनि असर पार्दै जाने बताएका छन् । अधिकारीले भने 'अरुलाई खाने बाघले आफूलाई पनि खाने हो कि भन्नेमा ध्यान दिनुपर्छ’ ।
बैंक तथा वित्तीय संस्था डुब्दा कस्तो असर पर्छ भन्नेमा ध्यान दिनु पर्ने गभर्नर अधिकारीले बताए । बैंक तथा वित्तीय संस्था फेल नहुन् भनेर मर्जरको लहर चलाएको उनको भनाई छ । राष्ट्र बैंकले ल्याउने नीति कुनै एक बैंकलाई मात्रै लक्षित नहुने भन्दै उनले सीडी रेसियोका विषयमा सुरुमा धेरै नै बिरोध भए पनि एनआईसी एसिया बैंकलाई सीडी रिसियोले सहयोग गरेको बताएका छन् ।
‘अहिले धेरैले बैंक अराजक भए, सामन्ती भए, मिटरब्याजी भए भनेर गाली गरेको सुनिए पनि आफूले त्यस्तो नपाएको अधिकारीले बताएका छन्। अहिले बैंकको आम्दानी घटेको सत्य रहेको उनले स्विकारेका छन्। ‘म गभर्नर भएको बेला ७० अर्ब रहेको नाफा अहिले त्यहाँ पुग्न सक्ने अवस्था छ ?’, उनले प्रश्न गरे , ‘अनि कसरी बैंक साहु महाजन भए ?’
कुनै बैंकको पुँजी घट्दा असर पर्ने भए पनि राष्ट्र बैंकले असर पर्न नदिने र भरथेग गर्ने गभर्नर अधिकारीले बताए। अधिकारीले राष्ट्र बैंकले नियमन गरेको संस्थालाई कुनै हालतमा पनि डुब्न नदिने पनि बताएका छन् ।
नेपालको अर्थतन्त्रमा सहकारी र अनौपचारीक अर्थतन्त्रले ठूलो असर पारेको छ । ‘सहकारीमा समस्या परेपछि बैंकको रिपेमेन्टमा समस्या परेको छ,’ उनले भने, ‘ अहिले सहकारीको १० प्रतिशत समस्या समाधान गरे बाँकि सहकारीको समस्या समाधान हुन्छ ।’


































