काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा सुशासन स्थापितका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने भन्दै नियत र निष्ठा स्पष्ट हुनुपर्ने धारणा राखेका छन् ।
‘हामीले आदर्शका कुरा त धेरैले गर्छौँ तर व्यवहारमा कसले के गर्छ भन्ने महत्त्वपूर्ण हुन्छ। यसमा नियत र निष्ठा बढी महत्त्वपूर्ण हुने रहेछ।
आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमानदारिताका साथ काम गरेको उनको धारणा छ ।
‘मैले सरकारमा रहँदा जे बोल्थे र गर्थें, अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु,’ उनले भने ‘मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब बिस्तारै जनताले बुझ्दै गएका छन्।’ जहाँ भ्रष्टाचार भएको छ भन्ने जनताले आशंका गरेका छन् र सदनमा गम्भीर प्रश्न उठेका छन्, त्यहाँ राजनीतिक नेतृत्वको इमान्दारिता जनताले जाँच्न खोजेको पनि उनले उल्लेख गरे।
‘म यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार छु। मैले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि लिएको संकल्पमा अहिले पनि दृढ छु, यसमा पत्रकारिता क्षेत्रको पनि साथ सहयोग चाहिएको छ,’ अध्यक्ष दाहालले भने।


































