काठमाडौँ । प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फोन वार्ता भएको छ।
प्रधानमन्त्री ओलीले प्रचण्डलाई संसद्को अवरोध हटाएर गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने वातावरण निर्माण गर्न आग्रह गरेका छन् । तर, प्रचण्डले आफूहरू (विपक्षी दल) अडानप्रति स्पष्ट रहेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने जवाफ फर्काएको सांसद माधव सापकोटाले जानकारी दिएका छन् ।
प्रचण्डले ओलीलाई गृहमन्त्रीको राजीनामा गराएर आफैँले सदनमा आएर जवाफ दिन भनेको सापकोटाले जानकारी दिएका हुन् ।
भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध कायमै राख्ने विपक्षी दलले निर्णय गरेको र उक्त निर्णय कायमे रहने सापकोटाको भनाई छ ।
आज बुधवार समेत विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ। बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए। उक्त बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ।


































