काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले २९० जना प्रतिवादी कायम गरेर अदालतमा मुद्दा पठाएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले सञ्चारसचिव कृष्णबहादुर राउतसमेत २९० जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा पठाइएको जानकारी दिए ।
उनका अनुसार मुद्दा दर्ता हुने प्रक्रियामा रहेको छ । हाल ललितानिवास प्रकरणमा पक्राउ परेका प्रतिवादीको सङ्ख्या नै १८ जना रहेका छन् ।
त्यसपछि उनीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि थुना बाहिरै राख्ने भन्ने सम्बन्धमा थुनछेक बहस सुरु हुनेछ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितानिवास क्याम्पभित्रको सरकारी जग्गा हिनामिना गर्नेविरुद्ध मुद्दा चलाउनका लागि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा बुझाएको थियो ।
संगठित रूपमा किर्ते गरी वा किर्ते कागजात तयार पारी जग्गा घोटाला गरेको भन्दै प्रतिवादीहरूसँग ७६ अर्ब भन्दा बढी बिगो कायम गरी मुद्दा चलाउन माग गरिएको छ ।

































