काठमाडौं । बाढी, पहिरो तथा डुबानबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले देशभर व्यापक तयारी गरेको छ। सशस्त्र प्रहरीले ६५० वटा जोखिमयुक्त स्थानमा ११ हजार ७ सयभन्दा बढी जनशक्तिलाई उच्च सतर्कतासहित परिचालन अवस्थामा राखेको जनाएको छ।
मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले देशभर पूर्वतयारी तथा परिचालन योजना बनाएर कार्यान्वयनमा ल्याएको छ। जोखिमयुक्त क्षेत्रमा आवश्यक जनशक्ति तथा उद्धार सामग्रीको व्यवस्थापनसमेत गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार २ हजार ६० जना विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्ति प्रत्यक्ष उद्धारका लागि तयारी अवस्थामा छन्। त्यस्तै, १३३ जना गोताखोर र २२४ जना रोप रेस्क्यु तथा उच्च भू–भाग खोज तथा उद्धार तालिमप्राप्त कर्मचारीसमेत परिचालनका लागि तयारी अवस्थामा राखिएका छन्।
डुबानमा परेकाको उद्धारका लागि १०३ वटा र्याफ्ट बोट र ५८ वटा मोटर बोट तयारी अवस्थामा राखिएको छ। खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन ३० वटा तालिमप्राप्त के–नाइन डग स्क्वाड र ५ वटा विशेष ड्रोनसमेत परिचालनका लागि तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
विपद्का कारण सडक अवरुद्ध भए तत्काल खुलाउन तथा हेभी रेस्क्युका लागि नदी करिडोर र प्रदेशस्थित बाहिनी मुख्यालयमा ह्विल लोडर, क्रेन र एक्साभेटरलगायत भारी उपकरण तयारी अवस्थामा राखिएका छन्।
सुनकोशी, सप्तकोशी, भोटेकोशी, त्रिशूली, नारायणी र बाग्मती नदी तथा विष्णुमती, बल्खु, मनोहरा, हनुमन्ते र नख्खुलगायत खोलामा आवश्यक उद्धार सामग्रीसहित विपद् व्यवस्थापन जनशक्ति तयारी अवस्थामा राखिएको छ।
यसैगरी, र्याफ्ट एसोसिएसनसँगको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशमा थप १०–१० वटा र्याफ्ट बोट तयारी अवस्थामा राख्ने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र आवश्यकताका आधारमा थप जनशक्ति तत्काल परिचालन गर्ने रणनीतिसमेत बनाइएको छ।
भारी वर्षा तथा बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले असोज ९ देखि ११ गतेसम्म जोखिमयुक्त नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन माइकिङ गर्ने जनाएको छ। सडकमार्गमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा सम्भावित जोखिमप्रति विशेष सतर्कता अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।
































