काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को सम्भावित प्रभावले नेपालका प्रमुख राजमार्गमा पहिरो, बाढी तथा सडक क्षतिको जोखिम बढ्न सक्ने भन्दै सम्बन्धित निकायले पूर्वसूचना जारी गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै प्रमुख राजमार्गको प्रारम्भिक पहिरो जोखिम आकलन सार्वजनिक गरेका हुन्।
सूचनाअनुसार आगामी केही दिनमा विशेषगरी नारायणी, बागमती र कोशी नदी जलाधार तथा आसपासका क्षेत्रमा वर्षा हुन सक्ने भएकाले राजमार्ग क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने देखिएको छ।
वर्षाका कारण पहाडी तथा भिरालो भूभाग भएका सडक खण्डमा पहिरो खस्ने, ढुङ्गा झर्ने र सडक भासिने सम्भावना रहेको सूचनामा उल्लेख छ। त्यस्तै, नदी किनारका सडकमा जलसतह बढ्दा बाढी तथा कटानको जोखिमसमेत रहन सक्ने जनाइएको छ।
पहिरो र बाढीका कारण सडक अवरुद्ध भएमा यातायात सञ्चालन तथा अत्यावश्यक वस्तुको ढुवानी प्रभावित हुन सक्नेछ। साना तथा ठूला खहरे खोला र कल्भर्टमा पानीको बहाव बढ्दा सडकमा क्षति पुग्न सक्ने जोखिम पनि औँल्याइएको छ।
सम्बन्धित निकायले नारायणगढ–मुग्लिन सडक खण्ड, त्रिशूली तथा नारायणी नदी किनारका सडक, कोशी राजमार्ग र सिद्धार्थ राजमार्गका संवेदनशील पहिरो क्षेत्रलाई सम्भावित जोखिममा राखेका छन्।
त्यसैगरी, कान्ति राजमार्ग, अरनिको राजमार्ग, बागमती जलाधार क्षेत्रसँग जोडिएका सडक तथा विगतमा पहिरो जाने गरेका र नदी किनारमा रहेका अन्य राजमार्ग खण्डमा पनि सतर्कता अपनाउनुपर्ने जनाइएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले वर्षाको समयमा अत्यावश्यकबाहेक राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन्।
यात्रा गर्नैपर्ने अवस्था भएमा ट्राफिक प्रहरी वा सम्बन्धित सडक कार्यालयबाट पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सूचनामार्फत अपिल गरिएको छ।

































