काठमाडौं । धितोपत्र सम्बन्धी कसुर प्रकरणमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे पनि प्रतिवादी बनेका छन्। व्यवसायी दीपक भट्ट जोडिएको भनिएको सो मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले पाण्डेलाई समेत प्रतिवादी कायम गरी अदालतमा अभियोग दायर गरेको हो।
अभियोगपत्रअनुसार उनलाई हाल फरार प्रतिवादीका रूपमा उल्लेख गरिएको छ। चितवनको भरतपुर महानगरपालिका–१० का स्थायी बासिन्दा पाण्डे पूर्वमन्त्री विक्रम पाण्डेका छोरा हुन्।
अनुसन्धानका क्रममा पाण्डे लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग संलग्न रहेको र कम्पनीको सञ्चालक रहेको खुलेको छ। बिहीबार दायर गरिएको मुद्दामा कुल ८१ जना प्रतिवादी बनाइएको छ।
सीआईबीको निष्कर्षअनुसार लिबर्टी इन्स्योरेन्स र केही अन्य व्यक्तिहरूले नेपाल रिइन्स्योरेन्स लिमिटेड तथा एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रभावित पार्ने तथा बजारमा अस्वाभाविक कारोबार गर्ने गतिविधि गरेको पाइएको छ।
सरकारी वकिल कार्यालयले धितोपत्र ऐन २०६३ अन्तर्गत गैरकानुनी रूपमा कारोबार गरी लगानीकर्तालाई भ्रमित पारिएको भन्दै करिब ९९ लाख रुपैयाँ बराबरको हानी भएको दाबी गरेको छ। सोही रकमलाई आधार बनाएर बिगो माग गरिएको छ।
यसअघि उनका पिता विक्रम पाण्डे पनि ठेक्का प्रक्रियासम्बन्धी आरोपमा सीआईबी अनुसन्धानमा तानिएका थिए।

































