काठमाडौँ । पूँजीबजारलाई स्थिर, पारदर्शी र लगानीकर्तामैत्री बनाउने लक्ष्यसहित नेपाल धितोपत्र बोर्डले आज पूँजीबजार विकाससम्बन्धी मार्गचित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बजारमा देखिएको निरन्तर गिरावट र लगानीकर्ताको विश्वास घट्दै गएको अवस्थामा बोर्डले सुधारका ठोस कदम अघि सार्न लागेको हो।
मार्गचित्र सार्वजनिक गर्नु अघि बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले लगानीकर्ता प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
छलफलका क्रममा बजार सुधारका नीतिगत उपाय, लगानीकर्ताको हकहित संरक्षण, संरचनागत चुनौती र दीर्घकालीन सुधारका रणनीतिमा केन्द्रित बहस हुने अपेक्षा गरिएको छ। अध्यक्ष भट्टले पूँजीबजारलाई चलायमान बनाउन विशेष सुधार योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जनाएको छ।
यता, मार्गचित्र तत्काल सार्वजनिक नगरे भोलिदेखि ब्रोकर कार्यालयमा ताला लगाउने चेतावनी केही लगानीकर्ता समूहले दिएका छन्। निरन्तर ओरालो लागेको सेयर बजारप्रति सरकार र नियामक निकायको प्रभावकारी हस्तक्षेप आवश्यक रहेको माग उनीहरूले राख्दै आएका छन्।
यसैबीच, नेपाल सेयरधनी संघको अगुवाइमा लगानीकर्ताहरूले धितोपत्र बोर्ड परिसरमा पुगेर घेराउसमेत गरेका छन्। उनीहरूले छिटो नीतिगत निर्णय, लगानीकर्तामैत्री वातावरण निर्माण र बजारप्रति विश्वास बढाउने उपाय तत्काल लागू गर्नुपर्ने माग राखेका छन्।
लगानीकर्ताले सार्वजनिक हुन लागेको मार्गचित्रमा स्पष्ट कार्ययोजना, कार्यान्वयन समयसीमा र प्रभावकारी सुधारका उपाय समेटिने अपेक्षा गरेका छन्।


































