परिचय
शेयर बजारमा मूल्य कहिले माथि जान्छ, कहिले तल आउँछ र कहिलेकाहीँ निश्चित मूल्य क्षेत्रभित्र लामो समयसम्म घुमिरहन्छ । मूल्यको यस्तो चाललाई बुझ्न प्राविधिक विश्लेषणमा विभिन्न उपकरणको प्रयोग गरिन्छ । तीमध्ये सपोर्ट (Support) र रेजिस्टेन्स (Resistance) सबैभन्दा आधारभूत तथा महत्वपूर्ण अवधारणामध्ये पर्छन् ।
कुनै शेयरको मूल्य विगतमा निश्चित क्षेत्रमा पुगेर पटक–पटक फर्किएको छ भने भविष्यमा पनि त्यही क्षेत्रले मूल्यको चालमा प्रभाव पार्न सक्छ । यही कारणले Support र Resistance लाई बजारका महत्वपूर्ण मूल्य क्षेत्र (Key Price Levels) का रूपमा हेरिन्छ ।
यो पढ्न छुटाउनुभयो कि ?
तर Support र Resistance लाई केवल चार्टमा कोरिएको एउटा रेखाका रूपमा बुझ्नु पर्याप्त हुँदैन । वास्तवमा यी मूल्यका क्षेत्र (Zones) हुन्, जहाँ खरिदकर्ता र विक्रेताबीचको शक्ति सन्तुलनमा परिवर्तन आउन सक्छ । त्यसैले राम्रो प्राविधिक विश्लेषणका लागि Support र Resistance को अवधारणा, यसको निर्माण हुने कारण, बलियो तथा कमजोर स्तरको पहिचान र यसको व्यवहार बुझ्नु आवश्यक हुन्छ।

सपोर्ट (Support) भनेको के हो?
Support भन्नाले त्यस्तो मूल्य क्षेत्रलाई बुझिन्छ जहाँ शेयरको मूल्य तल झर्दा खरिद गर्ने दबाब (Buying Pressure) बढ्ने सम्भावना हुन्छ र मूल्यलाई अझ तल जानबाट रोक्ने प्रयास हुन्छ ।
यसलाई सजिलो भाषामा बजारको “भुइँ“ (Floor) का रूपमा बुझ्न सकिन्छ। जस्तै कुनै वस्तु माथिबाट खस्दा भुइँमा ठोक्किएर फेरि माथि उफ्रिन सक्छ, त्यस्तै शेयरको मूल्य पनि कुनै महत्वपूर्ण Support क्षेत्रमा आएपछि खरिदकर्ताको सक्रियताका कारण माथितर्फ फर्किन सक्छ । Support लाई खरिदको दबाब उत्पन्न भएर मूल्यलाई थप तल जानबाट रोक्ने “Floor“ का रूपमा प्रस्तुत गरिएको छ।
उदाहरणका लागि, कुनै शेयरको मूल्य ५००, ४८० र ४९० रुपैयाँको आसपासबाट पटक–पटक माथि फर्किएको छ भने ४८०–५०० रुपैयाँको क्षेत्रलाई सम्भावित Support Zone का रूपमा अध्ययन गर्न सकिन्छ।
यसको अर्थ मूल्य ४८० रुपैयाँमा पुगेपछि अनिवार्य रूपमा माथि नै जान्छ भन्ने होइन। बरु त्यस क्षेत्रमा खरिदकर्ताको चासो बढ्न सक्ने सम्भावना हुन्छ भन्ने हो।

रेजिस्टेन्स (Resistance) भनेको के हो?
Resistance भनेको त्यस्तो मूल्य क्षेत्र हो जहाँ शेयरको मूल्य माथि बढ्दा बिक्रीको दबाब (Selling Pressure) बढ्न सक्छ र मूल्यलाई अझ माथि जान कठिन हुन सक्छ।
यसलाई बजारको “छानो“ (Ceiling) का रूपमा बुझ्न सकिन्छ।PPT अनुसार Resistance त्यस्तो क्षेत्र हो जहाँ बिक्रीको दबाब उत्पन्न भएर मूल्यलाई थप माथि जानबाट रोक्ने प्रयास हुन्छ।
उदाहरणका लागि कुनै शेयर ८००, ८२० र ८१० रुपैयाँको आसपास पुगेर पटक–पटक तल फर्किएको छ भने ८००–८२० रुपैयाँको क्षेत्रलाई सम्भावित Resistance Zone का रूपमा अध्ययन गर्न सकिन्छ।
तर Resistance पनि निश्चित मूल्यको अदृश्य पर्खाल होइन। बलियो खरिद दबाब आएमा मूल्यले Resistance तोडेर माथि जान सक्छ। त्यस अवस्थालाई Breakout भनिन्छ।

Support र Resistance किन बन्छ?
Support र Resistance कुनै संयोग मात्र होइनन्। तिनीहरूको पछाडि बजारका सहभागीहरूको व्यवहार र मनोविज्ञान जोडिएको हुन्छ। SMART को PPT ले मुख्य रूपमा Trader Memory, Institutional Activities तथा Supply and Demand लाई Support र Resistance निर्माण हुने महत्वपूर्ण कारणका रूपमा प्रस्तुत गरेको छ।
१. Trader Memory
कुनै शेयरको मूल्य विगतमा कुनै क्षेत्रमा पुगेर माथि फर्किएको छ भने त्यो क्षेत्र लगानीकर्ताको स्मृतिमा बस्न सक्छ। भविष्यमा मूल्य पुनः त्यही क्षेत्रमा पुग्दा लगानीकर्ताले पहिलेको अनुभवका आधारमा Buy वा Sell निर्णय लिन सक्छन्।

२. Supply र Demand
यदि कुनै मूल्य क्षेत्रमा खरिदकर्ताको माग बढी भयो भने Support बन्न सक्छ। त्यस्तै, कुनै मूल्य क्षेत्रमा बिक्री गर्न चाहनेहरूको संख्या बढी भयो भने Resistance बन्न सक्छ।
३. Institutional Activities
ठूला लगानीकर्ता वा संस्थागत लगानीकर्ताको खरिद–बिक्री गतिविधिले पनि महत्वपूर्ण मूल्य क्षेत्रमा प्रभाव पार्न सक्छ।
यसरी बजारमा सहभागी विभिन्न पक्षको व्यवहार एकै ठाउँमा केन्द्रित हुँदा Support वा Resistance क्षेत्र निर्माण हुन सक्छ।
Line होइन, Zone का रूपमा बुझ्नुहोस्
प्रारम्भिक चरणका लगानीकर्ताले Support वा Resistance लाई प्रायः एउटा निश्चित मूल्यको रेखा (Line) का रूपमा कोर्ने गर्छन्। तर वास्तविक बजारमा मूल्यले प्रायः एउटै बिन्दुमा ठ्याक्कै प्रतिक्रिया दिँदैन।
त्यसैले व्यावसायिक दृष्टिकोणबाट Support र Resistance लाई Zone अर्थात् क्षेत्र का रूपमा हेर्नु बढी व्यवहारिक हुन्छ। “Beginners draw lines“ र “Professionals draw zones“ भनेर यही अवधारणालाई जोड दिइएको छ।
उदाहरणका लागि कुनै शेयरको मूल्य ५०० रुपैयाँमा मात्र Support पाउँछ भनेर सोच्नुको सट्टा ४९०–५१० रुपैयाँलाई Support Zone का रूपमा हेर्न सकिन्छ।
यसरी Zone को अवधारणा अपनाउँदा बजारको वास्तविक मूल्य व्यवहारलाई अझ लचिलो ढङ्गले बुझ्न सकिन्छ।

Role Reversal: Support नै Resistance र Resistance नै Support
Support र Resistance को सबैभन्दा महत्वपूर्ण अवधारणामध्ये एउटा हो Role Reversal अथवा Polarity Change.
सामान्य अवस्थामा Support ले मूल्यलाई तल जानबाट रोक्ने काम गर्छ। तर यदि मूल्यले बलियो रूपमा Support तोड्यो भने पुरानो Support पछि गएर Resistance बन्न सक्छ। त्यस्तै, कुनै Resistance बलियो रूपमा Breakout भएपछि पुरानो Resistance पछि गएर Support बन्न सक्छ।
Support → Resistance
मानौं कुनै शेयर लामो समयसम्म ५०० रुपैयाँको आसपास Support पाएर माथि गइरहेको थियो। पछि ठूलो बिक्री दबाबका कारण ५०० को Support Break भयो। केही समयपछि मूल्य पुनः ५०० आसपास आयो तर त्यहाँबाट फेरि तल झ¥यो भने पुरानो Support ले Resistance को भूमिका निर्वाह गरेको मानिन्छ।
यसलाई Retest का रूपमा पनि अध्ययन गर्न सकिन्छ।
PPT अनुसार Support Break हुँदा Sellers बलियो हुन सक्छन्, तीव्र मूल्य गिरावट आउन सक्छ र पुरानो Support लाई Resistance का रूपमा पुनः परीक्षण गर्ने अवस्था देखिन सक्छ।
Resistance → Support
यसको विपरीत, यदि Resistance Breakout भयो भने खरिद दबाब बलियो हुन सक्छ। मूल्य माथि गएपछि पुरानो Resistance क्षेत्रमा फर्किएर त्यहाँ Support पाएमा Resistance ले Support को भूमिका परिवर्तन गरेको मानिन्छ।
यस प्रकारको Role Reversal ले Breakout को गुणस्तर मूल्याङ्कन गर्न पनि सहयोग गर्न सक्छ।
Psychological Levels: गोलो अंकको प्रभाव
बजारमा केही मूल्य स्तरहरूलाई Psychological Levels भनिन्छ। उदाहरणका लागि १००, ५००, १,००० जस्ता गोलो अंकहरूमा बजार सहभागीको विशेष ध्यान जान सक्छ। त्यस्तै क्ष्लमभह मा पनि २६,०००, २८,००० वा ३०,००० जस्ता महत्वपूर्ण गोलो स्तरले मनोवैज्ञानिक प्रभाव पार्न सक्छ।
यसको मुख्य कारण मानव व्यवहार हो। मानिसहरूलाई गोलो अंक सम्झन र त्यसका आधारमा निर्णय गर्न सजिलो हुन्छ। संस्थागत लगानीकर्ताले समेत विभिन्न मूल्य वा Index स्तरलाई सन्दर्भ बिन्दुका रूपमा प्रयोग गर्न सक्छन्।
त्यसैले Technical Analysis गर्दा केवल विगतका Swing High र Swing Low मात्र होइन, यस्ता Psychological Levels लाई पनि ध्यान दिनु उपयोगी हुन्छ।
यो पढ्न छुटाउनुभयो कि ?
Support र Resistance कसरी कोर्ने?
Support र Resistance को सही पहिचानका लागि Higher Time Frame बाट सुरु गर्नु महत्वपूर्ण हुन्छ। SMART को PPT ले Monthly → Weekly → Daily जस्ता उच्च Time Frame बाट विश्लेषण सुरु गर्न सुझाव दिएको छ।
पहिलो चरणः Higher Time Frame हेर्ने
सबैभन्दा पहिले Monthly Chart हेरेर महत्वपूर्ण Support र Resistance क्षेत्र पहिचान गर्न सकिन्छ। त्यसपछि Weekly र अन्त्यमा Daily Chart मा झरेर थप सूक्ष्म स्तर पहिचान गर्न सकिन्छ।
दोस्रो चरणः विगतका Reversal क्षेत्र खोज्ने
विगतमा जहाँबाट मूल्यले पटक–पटक बलियो प्रतिक्रिया दिएको छ, ती क्षेत्रहरूलाई प्राथमिकता दिनुपर्छ।
तेस्रो चरणः Body र Wick को अध्ययन गर्ने
यदि Candlestick को Body र Wick दुवै साना छन् भने दुवैलाई ध्यानमा राख्न सकिन्छ। Body सानो तर Wick लामो भएको अवस्थामा आवश्यकताअनुसार Wick को क्षेत्रलाई पनि Support वा Resistance Zone निर्धारण गर्न प्रयोग गर्न सकिन्छ।
यसरी Monthly बाट Weekly र Daily सम्म क्रमशः विश्लेषण गर्दा बजारका महत्वपूर्ण स्तरहरू अझ व्यवस्थित रूपमा पहिचान गर्न सकिन्छ।
Strong Support र Resistance कसरी पहिचान गर्ने?
सबै Support र Resistance समान शक्तिशाली हुँदैनन्। केही स्तरले बजारमा निकै बलियो प्रतिक्रिया दिन सक्छन् भने केही स्तरमा सामान्य प्रतिक्रिया मात्र देखिन सक्छ।
SMART को PPT अनुसार Strong Levels का प्रमुख विशेषता यस्ता छन्ः
बलियो मूल्य प्रतिक्रिया भएको।
धेरै पटक Price ले Test गरेको।
ठूलो Candlestick बनेको।
Higher Time Frame मा पनि स्पष्ट देखिने।
यदि कुनै Support बाट मूल्य पटक–पटक बलियो रूपमा माथि फर्किएको छ भने त्यसलाई तुलनात्मक रूपमा बलियो Support मान्न सकिन्छ।
त्यस्तै कुनै Resistance मा पटक–पटक पुगेर ठूलो बिक्री दबाब देखिएको छ भने त्यो पनि महत्वपूर्ण Resistance हुन सक्छ।
Weak Support र Resistance
यसको विपरीत कमजोर स्तरमा सामान्यतयाः
सानो Candlestick बन्ने,
एकपटक मात्र Test हुने,
चार्टमा स्पष्ट रूपमा पहिचान गर्न कठिन हुने
जस्ता विशेषता देखिन सक्छन्।
त्यसैले चार्टमा देखिएको प्रत्येक सानो Price Reaction लाई Support वा Resistance भनेर चिन्ह लगाउनु उचित हुँदैन। महत्वपूर्ण र बजारले सम्मान गरेका क्षेत्रलाई प्राथमिकता दिनुपर्छ।
Support र Resistance प्रयोग गर्दा हुने सामान्य गल्ती
प्राविधिक विश्लेषण सिक्ने क्रममा लगानीकर्ताले केही सामान्य गल्ती गर्न सक्छन्। SMART को PPT ले विशेष रूपमा चारवटा गल्ती उल्लेख गरेको छ।
१. धेरै स्तर कोर्नु
चार्टमा अत्यधिक Support र Resistance कोर्दा मुख्य स्तर छुट्याउन कठिन हुन्छ। त्यसैले केवल महत्वपूर्ण क्षेत्रलाई प्राथमिकता दिनुपर्छ।
२. Trend लाई बेवास्ता गर्नु
Supoort मा मूल्य आएको मात्र आधारमा Buy गर्नु वा Resistance मा पुगेको मात्र आधारमा Sell गर्नु पर्याप्त हुँदैन। बजारको समग्र त्चभलम पनि अध्ययन गर्नुपर्छ।
३. पहिलो Touch मै कारोबार गर्नु
कुनै स्तर पहिलोपटक Test हुँदा त्यहाँबाट अनिवार्य रूपमा Reversal हुन्छ भन्ने हुँदैन। Price Action तथा अन्य Confirmation हेर्नु आवश्यक हुन्छ।
४. Exact Reversal को अपेक्षा गर्नु
Support र Resistance Zone भएकाले मूल्य ठ्याक्कै एउटै अंकबाट फर्किन्छ भन्ने अपेक्षा गर्नु उचित हुँदैन।
व्यावहारिक रूपमा Support र Resistance कसरी प्रयोग गर्ने?
कुनै शेयरको मूल्य Uptrend मा छ र क्रमशः Higher High तथा Higher Low बनाउँदै अगाडि बढिरहेको छ भने अघिल्लो महत्वपूर्ण Support क्षेत्रले Pullback मा महत्वपूर्ण भूमिका खेल्न सक्छ।
त्यस्तै, मूल्य कुनै महत्वपूर्ण Resistance नजिक पुगेपछि त्यसले कस्तो प्रतिक्रिया दिन्छ भन्ने हेर्न सकिन्छ। यदि Resistance Breakout भयो र त्यसपछि पुरानो Resistance लाई पुनः Test गरेर Support को रूपमा कायम राख्यो भने बजारको संरचनाबारे थप सकारात्मक संकेत प्राप्त हुन सक्छ।
तर केवल Support वा Resistance को उपस्थितिका आधारमा मात्र कारोबारको निर्णय लिनु उचित हुँदैन। Trend, Candlestick, Volume र Price Action जस्ता अन्य पक्षसँग संयोजन गरेर अध्ययन गर्दा विश्लेषण अझ प्रभावकारी हुन्छ।
निष्कर्ष
Support र Resistance प्राविधिक विश्लेषणको आधारभूत तर अत्यन्त शक्तिशाली अवधारणा हो। यसले बजारमा मूल्य कहाँबाट प्रतिक्रिया पाउन सक्छ, कुन क्षेत्रमा खरिदकर्ता सक्रिय हुन सक्छन् र कहाँ बिक्रीको दबाब बढ्न सक्छ भन्ने कुरा बुझ्न सहयोग गर्छ।
Support लाई बजारको Floor र Resistance लाई Ceiling का रूपमा बुझ्न सकिन्छ। तर व्यावहारिक बजारमा यी निश्चित एउटा रेखा नभई प्रायः Price Zone का रूपमा देखिन्छन्। साथै बजारमा Role Reversal हुने भएकाले पुरानो Support पछि Resistance र पुरानो Resistance पछि Support बन्न सक्छ।
बलियो Support तथा Resistance पहिचान गर्न Price Reaction, Multiple Touches, ठूलो Candlestick र Higher Time Frame मा देखिने संरचनालाई ध्यान दिनुपर्छ। त्यस्तै धेरै स्तर कोर्ने, Trend लाई बेवास्ता गर्ने, पहिलो Touch मै निर्णय गर्ने र Exact Reversal अपेक्षा गर्ने जस्ता गल्तीबाट बच्नुपर्छ।
अन्ततः, Support र Resistance आफैंमा Buy वा Sell को निश्चित संकेत होइनन्; यी बजारको महत्वपूर्ण मूल्य क्षेत्र हुन्। यिनलाई बजारको Trend, Price Action, Volume तथा अन्य प्राविधिक उपकरणसँग संयोजन गरेर प्रयोग गर्दा बजारको चाल बुझ्न र अझ व्यवस्थित निर्णय लिन सहयोग पुग्छ। SMART को PPT का मुख्य निष्कर्षअनुसार बजारले महत्वपूर्ण स्तरमा प्रतिक्रिया गर्छ, यी स्तरहरू बजारको मनोविज्ञानबाट निर्माण हुन्छन्, बलिया स्तर तुलनात्मक रूपमा बढी विश्वसनीय हुन्छन् र बजारमा Role Reversal हुन सक्छ।
लेखक:
बद्री आचार्य
राजन कंसाकार
SMART (Stock Market Analysis & Research Team)


































