काठमाडौं । नेपालमा इन्टरनेट सेवा प्रदायकहरूले सस्तो दरमा उपलब्ध गराउँदै आएका कम गतिको इन्टरनेट प्याकेज हटाउने भएका छन्। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईस्पान)ले असोज १९ गतेदेखि यस्ता प्याकेज उपलब्ध नगराउने जनाएको हो।
आईस्पानका अनुसार पछिल्लो १२ वर्षमा नेपालमा इन्टरनेटको पहुँच र प्रयोग उल्लेख्य रूपमा बढेको छ। फिक्स्ड ब्रोडब्यान्डको मूल्य र पहुँचका आधारमा नेपाल दक्षिण एसियाकै तुलनात्मक रूपमा सस्तो बजारमध्ये रहेको उसको दाबी छ।
तर सेवा सञ्चालनको लागत निरन्तर बढ्दै गएपछि कम मूल्यमा कम गतिको इन्टरनेट सेवा उपलब्ध गराउन कठिन भएको आईस्पानले जनाएको छ।
आईस्पानले मूल्यवृद्धि, मध्यपूर्वको तनावका कारण बढेको इन्धन खर्च, फाइबरको मूल्य वृद्धि तथा उच्च मुद्रास्फीतिले सेवा प्रदायकको लागत बढाएको उल्लेख गरेको छ।
त्यसैगरी, कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विस्तारसँगै इलेक्ट्रोनिक उपकरण र चिपसेटको मूल्य बढ्दा पनि इन्टरनेट सेवा सञ्चालन खर्चमा दबाब परेको आईस्पानको भनाइ छ।



































