काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले कात्तिक १९ र २० गते बबरमहलस्थित कार्यालयबाट असर्फी तथा मेडालियन बिक्री गर्न लागेको हो।
महाशाखाले बुधबार जारी गरेको सूचनाअनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामका लक्ष्मी तथा गणेश अंकित चाँदीका मेडालियन एक–एक थान खरिद गर्न पाइनेछ। एक व्यक्तिले बढीमा दुई थान चाँदीका मेडालियन खरिद गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार असर्फी तथा मेडालियन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गरिनेछ। मौज्दात कायम रहेसम्म पङ्क्तिबद्ध भएर आउने सेवाग्राहीलाई बिक्री गरिने महाशाखाले जनाएको छ।
सुनको असर्फी तथा चाँदीका मेडालियन खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने व्यवस्था गरिएको छ।
असर्फी तथा मेडालियनको मूल्य दैनिक बिहान करिब ११ बजेपछि निर्धारण हुने भएकाले मूल्य तय भएपछि मात्रै बिक्री सुरु हुने राष्ट्र बैंकले जनाएको छ।


































