काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ बाट लागू हुने गरी बुधवार २५ प्रतिशत अटो ट्यारिफ लगाउने योजनाको घोषणा गरेका छन्।
अमेरिकी राष्ट्रपतिले ट्यारिफले थप उत्पादनलाई संयुक्त राज्य अमेरिकामा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने धारणा राखेका छन्। सरकारको लागि नयाँ राजश्व उत्पन्न गर्ने र राष्ट्रिय ऋण घटाउन मद्दत गर्ने उनको भनाई छ ।
साथै, राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा २५ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका छन्।
ट्रम्पले भने, ‘भेनेजुएलाले जानाजानी र छलपूर्वक अपराधी र हिंसात्मक गिरोहका सदस्यहरूलाई संयुक्त राज्य अमेरिका पठाउँछ, जसमा ट्रेन डे अरागुआ जस्ता आतंकवादी संगठनहरू पनि समावेश छन्। हामी यी अपराधीहरूलाई फिर्ता पठाउनेछौँ।’
यो निर्णयले भारतको ऊर्जा रणनीतिलाई असर गर्न सक्छ। भारतीय रिफाइनरीहरूले हालै भेनेजुएलाबाट तेल किन्न थालेका थिए। सन् २०२४ मा भारतले भेनेजुएलाबाट २ करोड २० लाख ब्यारेल तेल आयात गरेको थियो। यो भारतको कुल तेल आयातको १.५ प्रतिशत मात्र थियो।































