काठमाडौँ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला निर्णयहरूको विरोधमा अमेरिका हजारौँ मानिसहरू उत्रिएका छन् । ५० प्रदर्शन, ५० राज्य, १ दिन भन्ने नारासहितको ५०५०१ नामक आन्दोलन जनस्तरको समूहले आयोजना गरेको हो । यस समूहले यसअघि पनि नट माई प्रेसिडेन्ट्स डे र ह्याण्ड्स अफ जस्ता विरोधहरू गरेको थियो।
प्रदर्शनमा सहभागीहरू ट्रम्पका कार्यकारी आदेशहरू, प्रेसमाथिको नियन्त्रण, कडाइका साथ लागू गरिएको आप्रवासन नीति, वातावरणीय संरक्षण हटाउने निर्णयहरू र न्यायिक निर्णयहरूको अवज्ञा जस्ता कदमहरूको विरोध गरिरहेका छन्।
त्यसैगरी सरकारी दक्षता विभाग अन्तर्गत एलन मस्कको नेतृत्वमा गरिएको खर्च कटौती र जागिर कटौतीको पनि विरोध भएको छ। यसले बजारमा असर पार्ने, जीवनयापन खर्च बढ्ने र जनतामा असन्तोष फैलिने डर रहेको प्रदर्शनकारीहरूको भनाइ छ।
५०५०१ समूहले आन्दोलनमा सहभागीहरूलाई कडा सुरक्षाकर्मीको उपस्थितिको लागि तयार रहन चेतावनी दिएको छ। केही स्थानहरूमा आप्रवासन अधिकारीहरू पनि देखिन सक्ने समूहले जनाएको छ। समूहले आफू लोकतान्त्रिक र अहिंसात्मक आन्दोलनमा आधारित रहेको स्पष्ट पारेको छ।


































