काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले ‘नव नियुक्त अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गर्दै एमसीसी परियोजनाको काम समयमै सक्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
राजदूत थम्पसनले आज आइतबार मन्त्री पुनलाई मन्त्रालयमा शिष्टाचार भेट गरेर एमसीसी परियोजनाको सवालमा ध्यानाकर्षण गराएका हुन्। उक्त भेटमा थम्पसनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक र एमसीसी परियोजनाबारे चासो राखेका थिए।
अर्थमन्त्री पुनको सचिवालयको जानकारी अनुसार अमेरिकाले नेपालको शान्ति प्रक्रियाका बाँकी निष्कर्षमा पुर्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुङ्गिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ,’ राजदूत थम्पसनले भने, ‘त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ ।’
उनले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरू धेरै देश पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गरे ।
जवाफमा मन्त्री पुनले अमेरिकाले नेपालको समग्र विकासमा गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकामा राजदूत थम्पसनलाई धन्यवाद दिएका छन् । साथै एमसीसी परियोजनाको काम समयमै सम्पन्न गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।


































