काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२५ मा विश्वको अर्थतन्त्र केवल २=८५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ (आयात शुल्क)मा चर्को वृद्धि लगाउँदा विश्वव्यापी आर्थिक वृद्धिमा उल्लेखनीय शिथिलता आउने कोषले जनाएको हो ।
आईएमएफले यसअघि सन् २०२५ र २०२६ का लागि क्रमशः ३.३५ र ३.०५ प्रतिशतको आर्थिक वृद्धि दर अनुमान गरेको थियो।
आपूर्ति शृङ्खलाहरू आपसमा गहिरो ढंगले गाँसिने भएकाले ट्यारिफका कारण विश्वव्यापी व्यापारमा नकारात्मक असर पर्ने चेतावनी आईएमएफले दिएको छ। व्यापार नीतिमा अनिश्चितता देखिँदा लगानी घट्ने र उपभोगमा कटौती हुने भएकाले यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्छ।
अमेरिकालाई सबैभन्दा ठूलो असर
ट्रम्प प्रशासनको ट्यारिफ नीतिले अमेरिका आफैंलाई सबैभन्दा बढी असर पर्ने देखिएको छ।
आईएमएफले अमेरिकाको आर्थिक वृद्धिदरमा उल्लेखनीय कटौती गर्दै जनवरीमा गरिएको २.७५ प्रतिशतको प्रक्षेपण घटाएर १.८५ प्रतिशतमा झारेको छ। विद्यमान व्यापार तनाव, नीतिगत अनिश्चितता र कमजोर उपभोक्ता खर्चले अमेरिकी अर्थतन्त्रमा यो गिरावट आएको कोषले जनाएको छ। सन् २०२६ मा पनि यस्तो प्रभाव जारी रहने बताइएको छ ।
यसै आर्थिक अस्थिरताका कारण अमेरिकामा मन्दी छाउने सम्भावना अहिले ४० प्रतिशत रहेको अनुमान गरिएको छ । जुन अघिल्लो वर्षको २५ प्रतिशतभन्दा धेरै हो।
आईएमएफका प्रमुख अर्थशास्त्री पिएर–ओलिभिए गुराँशाले कोरोनापछिको अर्थतन्त्रलाई सुदृढ बनाउनु पर्ने बेला ट्रम्पले व्यापार युद्ध चर्काएर झन् चुनौती थपेको टिप्पणी गरेका छन्। यसले आपूर्ति सञ्जालमा अवरोध उत्पन्न गरिदिएको र अमेरिकी उपभोक्ताको क्रयशक्तिमा गहिरो असर पारेको उल्लेख गरिएको छ।
अन्य देशहरूको अवस्था
सन् २०२५ मा अमेरिका बाहेकका विकसित राष्ट्रहरूको आर्थिक वृद्धिदरमा समेत कटौती गरिएको छ।
आईएमएफले बेलायतको वृद्धिदर १.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ, जबकि ऊर्जा तथा पानीको शुल्क वृद्धि कारण त्यहाँको मुद्रास्फीति दर ३.१५ प्रतिशत हुने अनुमान गरिएको छ। यद्यपि जर्मनी, फ्रान्स र इटलीको तुलनामा बेलायतको वृद्धि दर उच्च हुने अपेक्षा गरिएको छ।
जर्मनीको आर्थिक वृद्धिदर ०.३५, इटलीको ०.४५ र फ्रान्स तथा जापानको ०.६ प्रतिशत रहने अनुमान गरिएको छ।
चीनको वृद्धिदर यस वर्ष ४.५ प्रतिशत हुने बताइएको छ । उक्त वृद्धिदर अघिल्लो प्रक्षेपण ४.६५ प्रतिशतभन्दा कम हो।
क्यानडाको वृद्धिदर सन् २०२५ मा २ प्रतिशत हुने अघिल्लो अनुमानलाई घटाएर १.४ प्रतिशत गरिएको छ।
अहिलेसम्म अमेरिकाले चिनियाँ वस्तुहरूमा २४५ प्रतिशतसम्म ट्यारिफ लगाइसकेको छ । प्रत्युत्तरमा चीनले पनि अमेरिकी वस्तुहरूमा १२५ प्रतिशत शुल्क लगाइदिएको छ।
ट्रम्प प्रशासनले अधिकांश मुलुकमा १० प्रतिशत ट्यारिफ लागू गरिसकेको छ भने केही देशहरूमा घोषणा गरिएका उच्च दरका ट्यारिफहरूलाई ९० दिनका लागि स्थगित गरिएको छ।


































