काठमाडौं । आजियटाले ६ अर्ब ६५ करोड रुपैयाँमा स्पेक्ट्रलाइट यूकेलाई एनसेल बेचेको छ । आजियटा समूहले ८० प्रतिशत स्वामित्व रहेको रेनोल्डस् होल्डिङ लिमिटेडलाई स्पेक्ट्रलाइट यूके लिमिटेडसँग बिनासर्त बिक्री गर्ने सम्झौता गरेको हो ।
स्पेक्ट्रलाइट यूके नेपाली मूलका सिंगापुर निवासी शतिशलाल आचार्यको कम्पनी हो । स्पेक्ट्रलाइट दुई महिनाअघि मात्रै सन् २०२३ सेप्टेम्बरमा खुलेको कम्पनी हो ।
सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने आजिआटाले नै पाउने सेयर खरिद सम्झौतामा उल्लेख भएको आजिआटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।आजिआटा सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यसबेला १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात् त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको सेयर उसले किनेको थियो ।
तर, त्यसको साढे सात वर्षपछि कम्पनी त्यसको तुलनामा अत्यन्तै काम मूल्यमा सेयर बिक्री गरी नेपालबाट बाहिरिने निर्णय गरेको छ ।
एनसेलले गत आर्थिक वर्षमा मात्रै ३९ अर्ब ८१ करोड आम्दानी गरेको थियो भने ५ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सन् २०२३ को तेस्रो त्रैमाससम्ममा एनसेलले २८ अर्ब २७ करोड आम्दानी गरिसकेको छ ।
एनसेलको लाइसेन्स सन् २०२९ सम्म छ । विद्यमान कानूनअनुसार त्यसपछि त्यो लाइसेन्स सरकारको नाममा आउनेछ । त्यसो हुँदा लाइसेन्सको अवधिभरको डिभिडेन्ड आजियाटाले लिने, त्यसबीचमा आकस्मिक लाभ केही भयो भने त्यो पनि आजिआटाकै हुने गरी स्पेक्ट्रलाइट युकेसँग सम्झौता भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
सन् २०२९ सम्मको व्यवसाय तथा दायित्वको जिम्मवारी एनसेलले लिने र विद्यमान र भविष्यमा पनि एनसेललाई सरकारले कुनै कर दाबी ग¥यो भने त्यो खरिदकर्ता अर्थात् स्पेक्ट्रलाइट युकेले बेहोर्ने गरी सम्झौता भएको पनि उसले उल्लेख गरेको छ ।
एनसेललाई राज्यले दोहोरो कर लगाएका कारण सिर्जित वातारवण एवम् सन् २०२९ मा कम्पनीको मोबाइल लाइसेन्सको अवधि सकिँदै गएको अवस्थामा त्यो जोखिमलाई पनि ध्यान दिएर नेपालबाट बाहिरिने निर्णय गरेको उसले उल्लेख गरेको छ ।
सरकारले पटकपटक निर्धारण गरेको कर रकम सम्पूर्ण भुक्तानी गर्दा दोहोरो कर परेको र आफूले खरिद गरेको मूल्यको ६२ दशमलव ७ प्रतिशत कर तिर्नुपर्ने अवस्था सृजना भएको आजियाटाले दाबी गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटालाई काट्यो पत्र
काठमाडौं । एनसेल आजियाटाले शेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिएको पाईएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेल आजियाटालाई पत्र लेख्दै चुक्ता पुँजीको पाँच प्रतिशत भन्दा वढी शेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको जानकारी गराएको हो ।
प्राधिकरणले एनसेल आजियाटाको होल्डिङ कम्पनीको शेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भनि जारी विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
‘दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशत भन्दा वढी शेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था रहेकोले सो अनुरूप गर्न गराउन जानकारी गराइन्छ’, प्राधिकरणका उपनिर्देशक सुन्दर प्याकुरेलको हस्ताक्षरमा एनसेल आजियाटालाई पठाएको पत्रमा भनिएको छ ।



































