काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले राज्यको राजस्वमा उल्लेख्य योगदान पुर्याउँदै आएको छ। कम्पनीले विभिन्न कर, शुल्क तथा राजस्व शीर्षकअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मात्रै १७ अर्ब २८ करोड रुपैयाँ राज्यलाई बुझाएको विवरण सार्वजनिक भएको छ।
एनसेलले दूरसञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न शीर्षकमा नियमित रूपमा कर तथा शुल्क भुक्तानी गर्दै आएको छ। कम्पनीले जीएसएम लाइसेन्स शुल्कबापत ३ अर्ब २९ करोड रुपैयाँभन्दा बढी, फ्रिक्वेन्सी शुल्कबापत १ अर्ब ९६ करोड रुपैयाँ र रोयल्टीबापत १ अर्ब २९ करोड रुपैयाँ योगदान गरेको छ।
त्यस्तै, भन्सार शुल्कबापत १ अर्ब २ करोड रुपैयाँ, बिक्रीमा तिरेको खुद मूल्य अभिवृद्धि कर (भ्याट) बापत २ अर्ब ६३ करोड रुपैयाँ तथा दूरसञ्चार सेवा शुल्कबापत २ अर्ब ८९ करोड रुपैयाँ राज्यलाई बुझाएको छ। ग्रामीण दूरसञ्चार विकास कोषमा समेत कम्पनीले ६४ करोड ९६ लाख रुपैयाँ योगदान गरेको विवरणमा उल्लेख छ। अन्य अग्रिम कर, स्रोतमा कर कट्टी (टीडीएस) लगायतका शीर्षकसमेत जोड्दा कुल योगदान १७ अर्ब २८ करोड रुपैयाँ पुगेको हो।
लाइसेन्स नवीकरणमा पनि ठूलो आर्थिक दायित्व
एनसेलले आफ्नो दूरसञ्चार सेवा सञ्चालनका लागि आवश्यक अनुमतिपत्र नवीकरणबापत पनि ठूलो रकम भुक्तानी गर्दै आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको व्यवस्थाअनुसार लाइसेन्स नवीकरणका लागि कम्पनीले २० अर्ब रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ। सरकारले उपलब्ध गराएको किस्ताबन्दी सुविधाअनुसार कम्पनीले करिब ५ अर्ब रुपैयाँको किस्ता भुक्तानीसमेत गर्दै आएको छ।
कम्पनीले कर तथा शुल्कका अतिरिक्त ग्रामीण दूरसञ्चार विकास कोषमार्फत देशका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवाको विस्तार र विकासका लागि समेत योगदान पुर्याउँदै आएको छ।
राजस्व योगदानसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
एनसेलले सरकारी राजस्वमा योगदानका अतिरिक्त सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधिमा समेत सहभागिता जनाउँदै आएको छ। एनसेल फाउन्डेसनमार्फत विपद् प्रभावित समुदायलाई सहयोग तथा राहत उपलब्ध गराउने कार्य पनि गर्दै आएको छ।
हालै बाढीपीडित तथा विपद् व्यवस्थापनका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराएको विषय पनि कम्पनीको सामाजिक उत्तरदायित्वसँग जोडिएको छ।
सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत एनसेलले हालसम्म २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ। कम्पनीले शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा उक्त रकम लगानी गरेको जनाएको छ। यसबाट देशभर १ करोड ३० लाखभन्दा बढी मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित भएको कम्पनीको दाबी छ।
दूरसञ्चार क्षेत्रमा निजी लगानी, प्रविधि विस्तार, रोजगारी सिर्जना र सरकारी राजस्वमा योगदानका हिसाबले एनसेल नेपालको महत्वपूर्ण व्यावसायिक संस्थामध्ये एकका रूपमा रहेको छ। कम्पनीले कर तथा शुल्क भुक्तानी र सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिँदै आएको छ।


































