काठमाडौँ । आज जेठ बिहीबारका दिन १५ गते सरकारले अगामी वर्षको बजेट सार्वजनिक गर्दै छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट पेस गर्नेछन्।
अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्रीले संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ।
राष्ट्रिय योजना आयोगअन्तर्गतको राष्ट्रिय स्रोत अनुमान समितिले १९ खर्ब ६५ अर्ब रुपैयाँको बजेट बनाउने गरी सीमा दिएकोमा यही हाराहारीमा बजेट ल्याउन लागिएको छ। चालू आर्थिक वर्षको बजेट सुरुमा १८ खर्ब ६० अर्ब रुपैयाँको ल्याइएकोमा आम्दानी र खर्चको लक्ष्य नभेटिने भएपछि अर्धवार्षिक समीक्षामार्फत घटाएर १६ खर्ब ९२ अर्ब रुपैयाँमा झारिएको थियो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्ने, आर्थिक सुधारलाई प्राथमिकता दिने र सामाजिक सुरक्षालाई सुदृढ गर्ने लक्ष्यसहित बजेट ल्याउने सरकारको तयारी छ । साथै, अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१–०८२ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।
आगामी बजेट अर्थतन्त्रको वृद्धिदरलाई उच्च महत्त्वमा राखेर ल्याइने अर्थमन्त्री पौडेलले यसअघि नै सार्वजनिक रूपमा प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । बजेटमा नयाँ आयोजना थप्नेभन्दा पनि पुराना आयोजना सम्पन्न गर्ने गरी विनियोजन हुने उनको धारणा छ । अर्थ मन्त्रालयका अनुसार सङ्घीय बजेटमा आयोजना बैङ्कमा नपरेका र तीन करोड रुपैयाँभन्दा कमका आयोजना पर्ने छैनन् ।
बजेटमार्फत वृद्ध भत्ता पाउने उमेर बढाउने र कर्मचारीको तलब बढाइने जस्ता विषयले चर्चा पाएका छन् । सामाजिक सुरक्षामा बढ्दो दायित्वका कारण पनि सरकारले वृद्ध भत्ताको उमेरमा हेरफेर गर्ने तयारी गरेको हो ।






































