काठमाडौँ। सरकारले आज (सोमबार) रईद उल फितरको अवसरमा पारेर देशभर सार्वजनिक बिदा दिएको छ। विकास तथा वाणिज्य बैंकहरुले आफ्ना ग्राहकहरूको समस्यालाई मध्य नजर गर्दै बिदाका दिनमा समेत सीमित शाखा कार्यालयहरू सञ्चालन गरेर बैकिङ्ग सेवा दिने भएका छन् ।
सोमबार विभिन्न बैंकहरुले उपत्यका भित्र र देशका विभिन्न व्यापारिक तथा बढी मानिसहरू बसोबास गर्ने स्थानका शाखा कार्यालय खुल्ला गरेर बैकिङ्ग सेवा दिइरहेका छन् । राष्ट्र बैंकको नियम अनुसार पनि बैंकहरुले खुल्ला राखेको हो ।
सार्वजनिक बिदाका दिन आज क्रमशः सानिमा बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, कामना सेवा विकास बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक लगायतका बैंकहरुले केही शाखा कार्यालयबाट बैकिङ्ग सेवा प्रदान गरिरहेका छन् ।
आज सार्वजनिक बिदा भएकाले शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायत सरकारी कार्यालयहरू बन्द रहनेछन्। जसमा केही बैंकहरु सीमित स्थानबाट तथा सीमित समयको लागि बैंकिङ्ग सेवा उपलब्ध गराइरहेका छन् ।



































