काठमाडौँ । सरकारले बिहीबार फेसबुक, ट्विटर (एक्स), युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार नै उक्त निर्णय सार्वजनिक गरेपछि धेरैजसो सामाजिक सञ्जाल बन्द भइसकेका छन्।
प्रसारण नियमावलीअनुसार कुनै विदेशी प्रसारण संस्था वा डिजिटल कार्यक्रम उत्पादकले नेपालमा कार्यक्रम प्रसारण गर्न चाहेमा अनुमति लिनुपर्ने व्यवस्था छ। तर, सो प्रक्रिया पूरा नगरेका सामाजिक सञ्जालहरू तत्काल बन्द गर्ने निर्णय सरकारले गरेको हो।
तर, केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गर्ने आदेश दिए पनि प्रधानमन्त्री ओली स्वयं भने फेसबुकमार्फत आफ्नो गतिविधि सार्वजनिक गरिरहेकाले विरोध र आलोचना बढेको छ। बालकोट र प्रधानमन्त्रीको सचिवालय पेजमार्फत एमालेको विधान महाधिवेशनसम्बन्धी सामग्री पोस्ट भएपछि ‘आफै निर्णय गर्ने र आफैँ उल्लंघन गर्ने’ भन्दै चौतर्फी आलोचना चर्किएको हो।


































