काठमाण्डौ । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘आरविवि फोकस ४०’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थपिएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक र आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यस योजनाअन्तर्गत १० करोड इकाइ निष्कासन गर्ने व्यवस्था गरिएको हो।
कुल निष्कासनमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई बीज लगानीकर्ताका लागि सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ। सार्वजनिक निष्कासन गर्ने इकाईमध्ये १ प्रतिशत योजना व्यवस्थापकलाई सुरक्षित राखिएको छ।
यस योजनाको इकाई बिक्री बन्द हुने मिति छिट्टैमा भदौ २२ गते र ढिलोमा असोज १ गते तोकिएको थियो। तर मागअनुसार आवेदन नपरेकाले असोज १ गतेसम्मका लागि म्याद लम्बाइएको हो। यद्यपि मागभन्दा बढी आवेदन परेमा असोज १ भन्दा अगावै बिक्री बन्द गरिने आरविवि मर्चेन्ट बैंकिङले जनाएको छ।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड इकाइसम्मका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनका लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका आस्वा सदस्य कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ नै रहेको छ।

































